विदेशको हण्डरबाट इलमी



कुमार श्रेष्ठ, बाँके । बाँके पेडारीका दीपक थारु रोजगारीका लागि मलेसिया गए । ८५ हजार खर्च गरेर मलेसिया गएका थारु सहमति विपरित अर्को काममा लगाइयो । मोवाइल, कम्प्यूटर पसलमा काम गर्दा एघार सय रिंगिट पाइन्छ भनेर गएका दीपक प्लाष्टिक उद्योगमा परे । तलव पनि ५ सय ४६ रुपैया दिइयो ।
काम र पैसा नमिलेपछि गएको तीन महिनादेखि नै घर फर्किने कोसिस गरेका दीपक दश महिनापछि घर फर्किए । यो अवधिमा दीपकले एक लाख २७ हजार घर पठाए । घर फिर्ता हुन फेरि ४५ हजार लाग्यो । विदेश जादा र फर्किदोको हिसाव गर्दा दीपकलाई उल्टै घाटा लाग्यो । दश महिनाको दुःख त छदैछ ।
मलेसियाबाट फर्केपछि दीपक भारतको पञ्जाव गए । दैनिक भारु तीन सय रुपैयामा इट्टाभट्टामा काम थाले । एक महिनामै बिरामी परेपछि दीपक भारु आठ हजार रुपैया लिएर घर आए । मलेसियामा दश महिना बस्दा उल्टै तीन हजार रुपैया घाटा खाएका दीपकले भारतमा एक महिना काम गर्दा आठ हजार भारु लिएर आए ।
दुवैतिर हण्डर खाएर घर आएका दीपकलाई गाउँमै तरकारी खेती गर्दा राम्रो आम्दानी हुने पुनः सोच पलायो । विदेश जानुअघि पनि दुई वर्ष किसान परियोजनाको अलिकति सहयोग गरेपछि दीपकले दुई वर्ष तरकारी खेती गरेका थिए । दुई कठ्ठामा लगाएको तरकारीमा रोग लागेर घाटा भएपछि दीपक विदेश हिडेका थिए । गाउँमै कृषक समूह गठन गरेर स्थायी प्रकृतिको टनेल बनाएर खेती गर्न शुरु गरेपछि दीपकलाई पछाडी फर्किनु परेको छैन ।
दश कठ्ठामा ६ वटा टनेल बनाएर दीपकले तरकारी खेती गरिरहेका छन् । करेला, काक्रा, खुर्सानी, भिन्डी, लौका लगाएर दीपकले राम्रो आम्दानी गरिरहेका छन् । दीपक भन्नुहुन्छ, हरियाली कृषक समूह बनाएर २१ जना तरकारी खेतीमा लागेका छौं । गतवर्ष ६४ लाख रुपैया आम्दानी भएको थियो ।’ समूहमा बसेकाले व्यक्तिगत तरकारी खेती पनि गरिरहेका छन् ।
हरियाली कृषक समूहका अध्यक्ष दीपकले यही काम गर्दा नै राम्रो आम्दानी गर्न सकिने भएकाले विदेश जाने सोच नै बदलेको बताउनुभयो । ‘विदेशमा गर्ने दुःख यही गर्ने हो मालामाल भइन्छ, दीपकले भन्नुभयो, गाउँमा पनि रहरले पहिला विदेश जाने र पछि दुःख पाएर आएपछि यही व्यवसाय गर्ने धेरै छन् ।’
विदेशबाट फर्केपछि बर्दियाका टोपलाल विकले पनि केरा खेती गरेर राम्रो नाम र दाम कमाएका छन् । कतारमा तीन वर्ष बिताएर छुट्टीमा घर आएका टोपलाल यही नमूना कृषक बनेर बसेका छन् । सोहेलुवामा केराको बेर्ना र केरा खेती गरेर विकले राम्रो कमाइ गरेका छन् । कतारको मासिक ७० हजार कमाईलाई अहिले टोपलालले बिर्सिसकेका छन् ।
पेडारीका सुरेशकुमार थारु ६ वर्ष विदेशमा बसेर आएपछि अहिले गाउँमा पोल्ट्रीफर्म चलाएका छन् । विदेशमा कमाएको पैसाले घर बनाएका चौधरीले केही पैसाले पोल्ट्रीफर्म शुरु गरेका हुन् । पहिलो लटमै ५० हजार रुपैया कमाउन सफल भएका चौधरीको फर्ममा अहिले दोस्रो लटको चल्ला रहेका छन् ।
इच्छा–शक्ति र जाँगर भएमा यही पनि धेरै गर्न सकिने उल्लेखित व्यक्तित्वहरुले देखाएका छन् । मासिक एक हजारको राहदानी बन्ने बाँकेमा विदेश गएर फर्किएकाहरु इलमी बनेका पनि धेरै छन् । विदेशबाट फर्केकाहरुले तरकारी, च्याउ, केरा, गाई, बाख्रापालन गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्