नेकपा एमाले र नेकपा माओवादी केन्द्र सरकार गठनप्रक्रियामा, राष्ट्रपति-ओलीले भेट



काठमाडौँ । वाम गठबन्धनका दुई घटक नेकपा एमाले र नेकपा माओवादी केन्द्रले सरकार गठनप्रक्रिया सुरु गरेका छन् ।

शेरबहादुर देउवा नेतृत्वको सरकार काम चलाउ भइसकेको निचोड निकाल्दै दुई वाम घटकले शुक्रबारबाट नयाँ सरकार निर्माणको तयारी थालेका हुन् ।

एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच शुक्रबार दिउँसो भेटघाट भएसँगै सरकार गठनप्रक्रिया अघि बढेको हो ।

‘दुई नेताबीच भएको भेटमा नयाँ सरकार गठनबारे गम्भीर छलफल भएको छ’, अध्यक्ष ओलीका प्रेस संयोजक चेतन अधिकारीले भने, ‘भावी सरकार गठनबारे देउवा सरकारले झिकेको बखेडालाई प्रतिवाद गर्दै अघि बढ्ने सहमति दुई नेताबीच भएको छ ।’

दुई नेताबीचको छलफलमा वाम गठबन्धनको भावी रणनीति र पार्टी एकताबारे पनि छलफल भएको थियो । त्यस क्रममा वर्तमान काम चलाउ सरकारले गरेका नियुक्ति र निर्णयको पनि दुई दलले प्रतिवाद गर्ने सहमति दुई नेताबीच भएको छ ।

‘काम चलाउ सरकारले गरेको निर्णयमा आपत्ति जनाउने सहमति दुई नेताबीच भएको छ’, अधिकारीले भने, ‘देउवा सरकारले भावी सरकार गठनबारे कानुनी बखेडा झिकेकोमा वाम गठबन्धनले प्रतिवाद गर्ने भएको छ ।’

सरकार निर्माण र पार्टी एकता प्रक्रियालाई द्रुत गतिमा अघि बढाउन अब नियमित छलफल अघि बढाइने भएको छ । ‘पार्टी एकता र सरकार गठनलाई तीब्र पार्न अब दुई नेता र दलबीच नियमित छलफल गर्ने सहमति भएको छ’, अधिकारीले भने, ‘पार्टी एकता अघि बढाउन पदीय बाँडफाँट मिलाउन अन्य नेताहरुसहित अब दुई दलबीच संवाद हुनेछ ।’

राष्ट्रपतिलाई ओलीले भेटे

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई भेटेलगत्तै एमाले अध्यक्ष ओलीले शुक्रबारै राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटेका छन् ।
राष्ट्रिय सभा गठनबारेको विधेयक रोकिएका बेला ओलीले राष्ट्रपतिलाई भेटेका हुन् । सरकारले पठाएको राष्ट्रिय सभासम्बन्धी विधेयक राष्ट्रपतिको कार्यालयमा अड्किएको सन्दर्भमा ओली शीत्तल निवास पुगेका हुन् ।

देउवा सरकारले राष्ट्रिय सभासम्बन्धी अध्यादेश पारित नभइ नयाँ सरकार गठन अघि बढ्न नसक्ने अडान राख्दै आएको छ । अर्कातिर वाम गठबन्धनले राष्ट्रिय सभाको अध्यादेशका नाममा सरकार गठन रोक्न नहुने बताइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्