प्रत्यक्षतर्फको मतगणना सकियो



नेपाल समाचारपत्र
काठमाडौं
प्रतिनिधिसभाको १ सय ६५ निर्वाचन क्षेत्र र प्रदेशसभाको ३ सय ३० निर्वाचन क्षेत्रको मतगणना बुधबार सकिएको छ। बुधबार सुनसरी निर्वाचन क्षेत्र नं ३ बाट विजयकुमार गच्छदार विजयी भएको घोषणासँगै मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ। यसअघि गत शुक्रबार मनाङको परिणाम घोषणासँगै प्र्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फको मतपरिणाम सार्वजनिक हुने क्रम शुरू भएको थियो।

दोस्रो चरणको निर्वाचनअघि आयोगले पत्रकार सम्मेलन गरी चारदेखि सात दिनभित्र प्रतिनिधिसभा सदस्यको प्रत्यक्षतर्फको मतपरिणाम आउने बताएको थियो। सोहीअनुरूप सात दिनभित्रमा मतपरिणाम आएको प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले नेपाल समाचारपत्रसँग जानकारी दिनुभयो।

‘आयोगले तयारी मिलाएअनुरूप भनेको समयावधि मतपरिणाम आएको छ’, स्थानीय तहको निर्वाचनको अनुभवबाट सिकेर मतगणना कार्य सुधार हुँदै गएको उल्लेख गर्दै उहाँले भन्नुभयो– ‘यो सँगै निर्वाचनका अन्य पक्षहरू पनि क्रमशः सुधार गर्दै जानेछु।’

स्थानीय तहको निर्वाचनमा मतगणना निकै सुस्त भएको सबैतिर आलोचना खेप्नुपरेको आयोगले यसपटक त्यस्तो आलोचना कतैबाट सुन्नुपरेन। स्थानीय तहको निर्वाचनको तुलनामा मतपत्रको आकार सानो भएको, निर्वाचन क्षेत्रको आधारमा मतगणना गरिएको, मतगणनामा खासै अवरोध नभएको, स्थानीय तहको तुलनामा मतगणनामा जनशक्ति थप गरिएकोलगायतले मतगणना तोकिएको अवधिमा सकिएको आयोगका सहसचिव एवं प्रवक्ता नवराज ढकालले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।

मतगणना सकिएसँगै प्रतिनिधिसभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये एमालेले ८० सिट जितेर पहिलो दल बनेको छ। समानुपातिकतर्फ पनि एमालेको अग्रता कायमै रहेकाले अब बन्ने प्रतिनिधिसभामा एमाले सबैभन्दा ठूलो दल बन्ने लगभग पक्कापक्की भएको छ।

प्रत्यक्षतर्फ एमालेभन्दा आधा कम सिट जितेर माओवादी दोस्रो दल बनेको छ। माओवादीले ३६ सिट प्रत्यक्षतर्फ जितेको छ भने समानुपातिकमा तेस्रो स्थानमा छ। यस्तै नेपाली कांग्रेस २३ सिट जितेर तेस्रो स्थानमा झरेको छ।

त्यस्तै मधेसवादी गठबन्धनले २१ सिट जितेको छ। त्यसमा राजपाले ११ र संघीय समाजवादी फोरमले १० सिट रहेको छ। नयाँ शक्ति पार्टी नेपाल, राप्रपा नेपाल, राष्ट्रिय जनमोर्चा, हुम्लाबाट स्वतन्त्र निर्वाचित माओवादी नेता छक्कबहादुर लामा र नेपाल मजदुर किसान पार्टीले एक सिट जितेका छन्।

त्यसै गरी समानुपातिकतर्फ ६२ लाख ३ हजार ९ सय ५० मत गणना गर्दा नेकपा एमाले अग्रस्थानमा कायमै छ। एमालेले २२ लाख ४४ हजार ४ सय ७७ मत प्राप्त गरेको छ। दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले २१ लाख ५५ हजार ३ सय ६६ मत प्राप्त गरेको छ। तेस्रोमा रहेको माओवादी केन्द्रले ८ लाख ९० हजार ८ सय ३३ मत पाएको छ।

माओवादीपछि उपेन्द्र यादवको नेतृत्वमा रहेको संघीय समाजवादी फोरमले बढी मत पाएको छ। उसले २ लाख ९१ हजार ३ सय ६५ मत पुर्याएको छ। अर्को मधेस केन्द्रित दल राजपाले उसलाई पछइरहेको छ। राजपाले २ लाख ३२ हजार ६ सय ५१ मत प्राप्त गरेको छ।

अघिल्लो संविधानसभामा समानुपातिकतर्फ उल्लेख्य मत पाएको कमल थापाको राप्रपा अहिले छैटौं नम्बरमा छ। राप्रपाले १ लाख ४८ हजार ९ सय ५२ मत पुर्याएको छ। राप्रपापछि विवेकशील साझा पार्टीले १ लाख ४६ हजार २ सय ८४ मत पाएको छ।

बाबुराम भट्टराईको नयाँ शक्तिले आठौं नम्बरमा छ। नयाँ शक्तिले ६२ हजार २ सय ६० मत पाएको छ। राप्रपासँग अलग भएको राप्रपा प्रजातान्त्रिकले ५१ हजार ३ सय ८१ मत पाएको छ। यस्तै, चित्रबहादुर केसीको नेतृत्वमा रहेको राष्ट्रिय जनमोर्चाले ३७ हजार ७ सय ३४ मत ल्याएको छ। अन्यको स्थानमा २ लाख २१ हजार ३ सय १७ मत खसेको छ।

प्रदेशसभातर्फ १७ जना महिला उम्मेदवार विजयी भएका छन्। प्रदेशसभातर्फ भने एमालेले ५१ प्रतिशत सिटमा जित हात पारेको छ। माओवादीले २२ प्रतिशत, कांग्रेसले १२ प्रतिशत, संघीय फोरम ७ प्रतिशत, राजपाले ५ प्रतिशत र अन्यले २ प्रतिशत सिटमा जित हात पारेका छन्।

प्रतिक्रिया दिनुहोस्