रोल्पाको समानुपातिकमा २२ प्रतिशतभन्दा बढी मत बदर



रोल्पा । प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मंसिर १० गते भएको मतदानमा समानुपातिकतर्फ रोल्पाका मतदाताले ठूलो सङ्ख्यामा मत बदर गरेका छन् ।

प्रतिनिधिसभातर्फ खसेको कूल मत ७० हजार ५ सय ७० मध्ये ११ हजार ४ सय ९४ मत बदर भएको छ । यो सङ्ख्या खसेको कूल मतको १६ प्रतिशतभन्दा बढी हो । यो सङ्ख्या जिल्लामा नेकपा ९एमाले०ले प्राप्त गरेको मतभन्दा बढी हो ।

प्रतिनिधिसभाका लागि समानुपातिकतर्फ जिल्लामा नेकपा माओवादी केन्द्रले २७ हजार २ सय २०, नेपाली काँग्रेसले १६ हजार ८ सय ४७ र एमालेले १० हजार ५ सय ४५ मत प्राप्त गरेका छन् ।

यसैगरी प्रदेशसभामा बदर मतको सङ्ख्या प्रतिनिधिसभाको मतभन्दा बढी देखिएको छ । जिल्लाको दुवै प्रदेशसभामा ७० हजार ५ सय ७० मत खसेकामा १५ हजार ७ सय ६६ मत बदर भएको थियो । यो सङ्ख्या प्रदेशसभाका लागि दुवै निर्वाचन क्षेत्रबाट खसेको मतको २२ प्रतिशतभन्दा बढी हो ।

प्रदेशसभाका लागि बदर भएको मत जिल्लामा नेपाली कांग्रेस र एमालले प्राप्त गरेको मतभन्दा बढी हो । प्रदेशसभाका लागि माओवादी केन्द्रले २५ हजार २ सय ६० मत प्राप्त गरेको थियो भने नेपाली काँग्रेसले १४ हजार ४ सय १८ र एमालेले १० हजार २ सय ७१ मत प्राप्त गरेका थिए ।

जिल्लामा यति धेरै मत बदर भएसँगै निर्वाचन शिक्षाका बारेमा प्रश्न उठ्न थालेको छ । ठूलो धनराशि खर्च गरेर गरिने मतदाता शिक्षाको परम्परागत पद्धतिले मतदातालाई कुनै प्रभाव नपारेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्