बिजयी जनप्रतिनिधिहरु मतदाताको घरदैलोमा, समृद्ध रुकुम बनाउने अठोट



धनवीर दाहाल, रुकुम । प्रतिनिधि सभा र प्रदेश सभा निबार्चनमा भारी मतका साथ बिजय भएपछि नवनिवार्चित प्रतिनिधि सभा र प्रदेश सभा सदस्यहरु यतिबेला गाँउ गाँउमा मतदातालाई धन्यवाद दिनमा व्यस्थ रहेका छन् । प्रतिनिधि सभा तर्फ एक निबार्चन क्षेत्र र प्रदेश सभा तर्फ दुई निबार्चन क्षेत्र रहेको रुकुम पश्चिममा बाम गठबन्धनको साझा उम्मेदवारको रुपमा नेकपा माओबादी केन्द्रका नेता जनार्दन शर्मा प्रतिनिधि सभा र रातो कामी प्रदेश सभा क्षेत्र नं १ तथा गोपाल शर्मा प्रदेश सभा क्षेत्र नं २ बाट बिजयी हुनुभएको छ । एमाले र माओबादी केन्द्रको गठबन्धन भएपछि माओबादी केन्द्रका उम्मेदवारलाई जिताउनका लागी सँगै रहेका एमालेका नेताहरु पनि आफ्ना उम्मेदवारलाई बिजयी बनाएकोमा धन्यवाद दिन गाँउगाँउ पुगेका छन् । दुवै पार्टीका नेताहरु संयुक्त रुप मतदातालाई धन्यवाद दिन गाँउ पसेका हुन् । बिजयी सांसदहरुले रुकुमको विकासका लागी सबै पक्षलाई समेटेर लिने नेकपा एमालेका जिल्ला अध्यक्ष बिमलकुमार पुनले बताउनुभयो । मतदाता सामु मत माग्दा गरेका बाचालाई पुरा गर्न आफुहरु तयार रहेको नवनिर्वाचित सांसदहरुको प्रतिबद्धता छ ।
माओबादी केन्द्रका जिल्ला स्तरका प्रभावशाली नेता समेत रहेका प्रदेभ सभा क्षेत्र नं १ का सांसद रातो कामीले निर्बाचन क्षेत्र नं १का जनताको आदेश अनुसार मात्र अगाडी बढ्ने बताउनुभयो । सबै भन्दा ठुलो जनता भएकोले जनताको आदेश भन्दा बाहिर जान नसकिने उहाँको भनाई छ । यस्तै प्रदेभ सभा क्षेत्र नं २ का सांसद गोपाल शर्माले आफुलाई मत हालेकोलाई मात्र होइन नहाल्ने मतदातालाई समेत धन्यवाद दिँदै सबैको भावनाको कदर गर्ने बताउनुभयो । भुलबस तथा केही कुरामा चित्त नबुझेकोले आफुलाई मत नहालेको भएपनि आफ्नो लागी सबै रुकुमका जनता बराबर भएकोले सबैलाई सम्बोधन गर्ने उहाँको प्रतिबद्धता छ । प्रतिनिधि सभा तर्फका सांसद जनार्दन शर्माले रुकुम पश्चिमको समग्र विकासका साथै संबिधान कार्यान्वन गरी देशलाई समृद्ध बनाउने अभियानमा आफु खट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । “समृद्ध रुकुम बनाउने अभियानमा दिनरात खटिन्छु”– उहाँले भन्नुभयो “त्यसको लागी तपाईहरुको साथ चाहिन्छ ।” देशमा शान्ति अमन चयन एवं शुसासन कायम गर्नका लागी आफु तयार रहेको शर्माको भनाई छ । रुकुम पश्चिमका धेरै विकटबस्तीमा अझै पनि टेलिफोन, सडक यातायात तथा खानेपानीको समस्या छ । नवनिर्बाचित जनप्रतिनिधिहरुले स्थानीय सरकारसँग समन्वय गरी ती बस्तीका समस्यालाई समाधान गर्नु पहिलो नमुना काम हुनेछ ।

प्रतिक्रिया दिनुहोस्