भक्तपुर क्षेत्र नं २ मा वाम गठबन्धन बिजयी



नेपाल समाचारपत्र
भक्तपुर
भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा र प्रदेशसभाको दुईवटै सिटमा वाम गठबन्धन बिजयी भएको छ। क्षेत्र नं २ मा वाम गठबन्धनका नेकपा(एमाले) उम्मेदवार महेश बस्नेतले नेपाली काँग्रेसका उम्मेदवार पूर्वसभामुख दमननाथ ढुंगानालाई झण्डै दोब्बर मतले पराजित गर्नुभएको छ। गएराति अबेर सम्पन्न मतगणनामा बस्नेतले ३६ हजार ४१२ मत प्राप्त गर्दा उहाँका निकटतम् प्रतिस्पर्धी काँग्रेसका ढुंगानाले १८ हजार ६८७ मत प्राप्त गर्नुभयो। त्यस्तै, नेपाल मजदुर किसान पार्टीकी अनुराधा थापा मगरले पाँच हजार ४७१ मत प्राप्त गर्नुभएको छ।

त्यसैगरी क्षेत्र नं २ को प्रदेशसभा १ मा वाम गठबन्धनका उम्मेदवार एमालेका शशिजंग थापा र प्रदेशसभा २ मा वाम गठबन्धनकै उम्मेदवार एमालेका राजेन्द्रमान श्रेष्ठ विजयी हुनुभएको छ। प्रदेशसभा १ मा (एमाले)का थापाले काँग्रेसका अंगत खड्कालाई १० हजार ४०० मतान्तरले पराजित गर्नुभयो। एमालेका थापाले १९ हजार ५१५ मत ल्याउँदा उहाँका निकटतम प्रतिस्पर्धी काँग्रेसका खड्काले नौ हजार ११५ मा चित्त बुझाउनुभएको छ।

यसैगरी, भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा २ मा पनि एमालेका राजेन्द्रमान श्रेष्ठले काँग्रेसका गणेशमान चक्रधरलाई दुई हजार ६९१ मतान्तरले हराउनुभएको छ। एमालेका श्रेष्ठले १४ हजार २२९ मत ल्याएर विजयी हुँदा काँग्रेसका चक्रधरले ११ हजार ५३८ मा सीमित हुनु परेको छ।यस क्षेत्रको समानुपातिक तर्फको मत गणना भने सोमबारदेखि मात्र हुने भएको छ।

भक्तपुर १ मा नेमकिपा अगाडि
भक्तपुर क्षेत्र नं १ को पछिल्लो मतपरिणाम अनुसार प्रतिनिधिसभा तर्फ नेमकिपाका प्रेम सुवालले १५ हजार ७ सय ९ मतका अगि हुनुहुन्छ।नेपाली काँग्रेसका बाबुराजा जोशीले १० हजार ७३४ मत र वाम गठबन्धनका मिलन सुवालले ९ हजार १ सय३० मत प्राप्त गर्नुभएको छ। भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(क) तर्फ वाम गठबन्धनका हरिशरण लामिछानेले ८ हजार ४८० मत ,काँग्रेसका जीवन खत्रीले ६ हजार २०६ मत र नेमकिपाका नीरज लबजूले ३ हजार २१६ मत पाउनुभएको छ।

यसैगरी भक्तपुर क्षेत्र नं १ प्रदेशसभा(ख) तर्फ नेमकिपाका सुरेन्द्रराज गोसाईंले १२ हजार ८सय९० मत ,काँग्रेसका अनिल भुजूले २हजार ५ सय७६ मत र वाम गठबन्धनका रोमन शिलाकारले ३ हजार ९ सय९७ मत प्राप्त गर्नुभएको छ।यहाँको प्रत्यक्ष तर्फको अन्तिम परिणाम आउन अझै एक दिन कुर्नुपर्ने देखिन्छ।

प्रतिक्रिया दिनुहोस्