उपत्यकामा वाम गठबन्धनको वर्चश्व



मधुसूदन रायमाझी, काठमाडौं

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा देशभर विजयी भएको वाम गठबन्धनले राजधानीमा पनि विजयको यात्रालाई निरन्तरता दिएको छ। काठमाडौंको पाँच क्षेत्रमा नेकपा एमालेकाले जित हासिल गरेको छ भने बाँकी एक निर्वाचन क्षेत्रमा अग्रता लिएको छ।

१० निर्वाचन क्षेत्रमध्ये कांग्रेस ४ निर्वाचन क्षेत्रमा विजयी भएको छ। कांग्रेसले काठमाडौंको १, ४, ६ र १० मा विजय हात पारेको छ भने २, ३, ७, ८ र ९ मा नेकपा एमाले विजयी भएको छ।

क्षेत्र नम्बर १ मा कांग्रेसका प्रकाशमान सिंह १० हजार ९ सय ३६ मतसहित विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी विवेशील साझाका रवीन्द्र मिश्रले १० हजार १ सय १८ मत प्राप्त गर्नुभएको थियो।

क्षेत्र नम्बर ४ मा कांग्रेसका गगन थापा २१ हजार ५ सय ५८ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका डा. राजन भट्टराईले १८ हजार १ सय ४० मत प्राप्त गर्नुभएको छ। क्षेत्र नम्बर ६ मा कांग्रेसका भीमसेनदास प्रधान १६ हजार ७ सय ८५ मतसहित विजयी हुनुभयो भने उहाँका निकटकतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका झक्कु सुवेदीले १५ हजार ४ सय ८५ मत प्राप्त गर्नुभएको थियो।

क्षेत्र नम्बर १० मा कांग्रेसका राजन केसीले २४ हजार १ सय ९० मत प्राप्त गर्दा एमाओवादीका हितमान शाक्यले २१ हजार ९ सय ७ मत प्राप्त गर्नुभएको थियो। काठमाडौं क्षेत्र नम्बर २ मा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल २७ हजार ३ सय ६६ मतका साथ विजयी हुनुभएको छ। उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय २ मत प्राप्त गर्नुभएको थियो।
क्षेत्र नम्बर ३ मा १९ हजार १ सय ६९ मत प्राप्त गरी नेकपा एमालेका कृष्ण राई विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत प्राप्त गर्नुभयो। त्यसै गरी क्षेत्र नम्बर ७ मा रामवीर मानन्धर विजयी हुनुभएको छ।

उहाँका निकटतम प्रतिद्वन्द्वी राप्रपाका विक्रमबहादुर थापा हुनुहुन्थ्यो। क्षेत्र नम्बर ८ मा एमालेका जीवनराम श्रेष्ठ १३ हजार ३ सय ९७ मतसहित विजयी हुँदा कांग्रेसका नवीन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत प्राप्त गर्नुभएको थियो। क्षेत्र नम्बर ९ मा एमालेका कृष्णगोपाल श्रेष्ठ २२ हजार ८ सय ५२ मतसहित विजयी हुनुभएको छ।

उहाँका निकटम प्रतिद्वन्द्वी कांग्रेसका ध्यानगोविन्द रञ्जितले १४ हजार ८ सय २ मत प्राप्त गर्नुभएको थियो।
क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसका डा. प्रकासशरण
महतभन्दा नेकपा एमालेका उम्मेदवार ईश्वर पोखरेल अगाडि रहनुभएको छ।

त्यसै गरी ललितपुरको तीनै क्षेत्रमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। क्षेत्र नं १ बाट नेकपा एमालेका उम्मेदवार नवराज सिलवाल २६ हजार ९ सय ४६ मतसहित विजयी हुनुभएको छ।

उहाँका निकतम प्रतिद्वन्द्वी अर्थराज्यमन्त्री उदयशमशेर राणाले २० हजार ७ सय २९ मत प्राप्त गर्नुभएको छ।त्यसै गरी क्षेत्र नं २ मा नेकपा एमालेका कृष्णलाल महर्जनले २७ हजार ७ सय १३ मत प्राप्त गर्नु भएको छ भने उहाँका निकतम प्रतिद्वन्द्वी चन्द्र महर्जनले १६ हजार ९ सय ४५ मत प्राप्त गर्नुभएको छ। त्यस्तै क्षेत्र नं ३ मा माओवादी केन्द्रकी पम्फा भुसालले २४ हजार ३५ मत प्राप्त गर्नुभएको थियो।उहाँका निकटतम प्रतिद्वन्द्वी मदनबहादुर अमात्यले २२ हजार ३ सय २९ मत प्राप्त गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्