विस्फोटक पदार्थसहित विप्लवका कार्यकर्ता पक्राउ



नेपाल समाचारपत्र
काठमाडौं
विस्फोटक पदार्थ, हातहतियार तथा विभिन्न दस्तावेजसहित नेकपा माओवादी (विप्लव) का ६ जना नेता तथा कार्यकर्तालाई बुधबार प्रहरीले पक्राउ गरेको छ।

प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचन बिथोल्न काठमाडौं उपत्यकाका विभिन्न मतदान केन्द्र, महत्त्वपूर्ण स्थानहरू र उम्मेदवारलाई लक्षित गरी बम विस्फोट गराउने योजना तथा कार्यमा संलग्न उनीहरूलाई काठमाडौं उपत्यकाका विभिन्न स्थानहरूबाट पेस्तोल १ थान, सोको गोली ८ राउन्ड, विभिन्न विस्फोटक पदार्थ र उक्त पार्टीका विभिन्न दस्तावेजसहित प्रहरीले पक्राउ गरेको हो ।पक्राउ पर्नेमा काठमाडौं लाजिम्पाट बस्ने सर्लाहीको ईश्वरपुर–१२ बाँके लामीदमारका २४ वर्षीय रवि गोले, काठमाडौं बौद्ध टुसाल बस्ने सिन्धुलीको क्यानेश्वर–९ मोक्तनडाँडाका ३४ वर्षीय सम्पूर्ण मुक्ति भन्ने विचारमान तामाङ, ललितपुर बाडेगाउँ बस्ने मकवानपुरको हेटौंडा–१७ का ३० वर्षीय आरोह नेपाली भन्ने महेश नेपाली, काठमाडौं पुरानो बानेश्वर बस्ने काभ्रेको मादनकुँडारी गाउँपालिका–७ चौरीदेउरालीका ४८ वर्षीय बिगेश लामा, ललितपुर बाडेगाउँ बस्ने नुवाकोटको लिखु नगरपालिका थानापतिका ३२ वर्षीय राजीव तामाङ र ललितपुर बाडेगाउँ बस्ने दोलखाको तामाकोशी गाउँपालिका–५ का ३० वर्षीय रोशन विष्ट रहेका छन्।

पक्राउ अभियुक्तमध्ये काठमाडौं जिल्लाको डीसीएम, युवा दस्ता (राष्ट्रिय युवा जनस्वयंसेवक) जिल्ला संयोजक तथा काठमाडौं १ नम्बर कमान्डको युवा दस्ता इन्चार्ज रवि हातहतियार तथा विस्फोटक पदार्थ संकलन, भण्डारण तथा विभिन्न स्थानहरूमा विस्फोटन गराउने तथा विस्फोटनको योजना बनाउने कार्यमा संलग्न रहेको खुल्न आएको छ। यसै गरी काठमाडौं जिल्लाको डीसीएम विचारमान हातहतियार तथा विस्फोटक पदार्थ संकलन भण्डारण तथा विभिन्न स्थानहरूमा विस्फोटन गराउने तथा विस्फोटनको योजना बनाउने कार्यमा संलग्न, ललितपुर जिल्लाको एसीएम तथा अखिल नेपाल जनसांस्कृतिक महासंघको कोषाध्यक्ष महेश विस्फोटन गराउने कार्यमा संलग्न, काठमाडौं जिल्लाको डीसीएम, न्याय विभाग प्रमुख विगेश विस्फोटक पदार्थ भण्डार तथा निर्वाचन बिथोल्न युवा दस्ता परिचालन गर्ने र विस्फोटन गराउने कार्यमा संलग्न, नुवाकोट जिल्लाको डीसीएम राजीव विस्फोटक पदार्थ बनाउने प्रशिक्षण प्राप्त गरी उपत्यकामा विस्फोटन गराउने कार्यमा संलग्न र साधारण सदस्य रोशन विस्फोट गराउने कार्यमा संलग्न भएको खुल्न आएको छ।

प्रतिक्रिया दिनुहोस्