छैमले घटनामा ३ सख्त घाइते



नेपाल समाचारपत्र
काठमाडौं
निर्वाचनको पूर्वसन्ध्यामा काठमाडौंको दक्षिणकालीमा भएको झडपमा ३ जना शक्त घाइते भएका छन्। बुधबार राति दक्षिणकाली नगर–८ छैमलेमा भएको झडपमा अन्य ५ जना पनि सामान्य घाइते भएका छन्।

निर्वाचनको बुथमा खटिएका पार्टीका स्वयंसेवकलाई स्थानीय पञ्चकन्या मावि, भण्डारखर्कमा खाजा–नास्ता पुर्याउने क्रममा कांग्रेसका क्षेत्रीय सचिव प्रेम लामा र अन्य स्थानीयमाथि आक्रमण भएको हो। काठमाडौं क्षेत्र नम्बर १० का कांग्रेस सचिव लामाको टाउकोमा गहिरो चोट लागेको छ भने स्थानीय गोपाल वाइबा र सुरेश वाइबाको पनि हात र मुखमा चोट लागेको छ।
‘बेलुका ८ बजे सामान पुर्याएर फर्किने क्रममा एक्कासि आक्रमणमा परँे, टाउकोमा गहिरो चोट लागेछ’, लामाले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘चोट ठूलो भएकाले ७ टाँका लगाइएको डाक्टरले बताए।’ लामासहितको टोली त्यसअघि सोही वडाको शिवशक्ति प्रावि भत्तेरचौर र देवीस्थानमा रहेको अर्को बुथमासमेत सामान पुर्याएर फर्किएको थियो।

पहिलो र दोस्रो बुथमा पनि त्यसरी नै सामान छोड्न जाँदा त्यस्तो कुनै अवरोध नभए पनि तेस्रो बुथ पुगेर फर्किने क्रममा रड र अन्य औजार प्रयोग गरेर नियोजितरूपमा आक्रमण गरिएको लामाले बताउनुभयो।
घाइतेद्वय वाइबा र लामाको दक्षिणकालीस्थित मनमोहन सामुदायिक अस्पतालमा बुधबार मध्यरातमा उपचार भएको थियो। सुरक्षा निकायको अनुमति लिएर स्थानीय जनप्रतिनिधीलाई समेत अवगत गराउँदै खाजा नास्ता छोड्न जाँदा नियोजित रूपमा आफ्ना कार्यकर्तामाथि आक्रमण भएको नेपाली कांग्रेसको भनाइ छ।

घाइतेहरूको उद्धार र उपचारमा प्रहरीले सहयोग नगरेकाले सुरक्षा निकायको संलग्नता हुनसक्ने सो पार्टीका कार्यकताको आरोप छ। घटनामा एमालेको तर्फबाट प्रदेशसभाका उम्मेदवार सञ्जय लामा र एमालेबाट वडाध्यक्ष निर्वाचित राजकुमार लामाको संलग्नता प्रस्ट संलग्नता रहेको कांग्रेसका एक कार्यकर्ताले बताए। निर्वाचनको पूर्वसन्ध्यामा मतदाता रिझाउन र पैसा बाँढ्न कांग्रेस कार्यकर्ता घुमिरहेको अपुष्ट खबर फैलिएपछि सो घटना घटेको स्थानीय बताउँछन्।
तर यो घटनामा एमालेमाथि लगाइएको आरोप निराधार भएको सो पार्टीका १० नम्बर प्रदेश संयोजक श्रीराम आचार्यले बताउनुभयो। माओवादीको वर्तमान स्थानीय नेतृत्व र माओवादी छोडेर कांग्रेस प्रवेश गरेका बीचको अन्तरद्वन्द्वका कारण बुधबारको घटना घटेको उहाँको भनाइ छ।

विगतमा माओवादीका कार्यकर्ता र भर्खरै कांग्रेस प्रवेश गरेका गोपाल वाइबा हातपातमा उत्रिँदा सो घटना घटेको बताउँदै आचार्यले भन्नुभयो– ‘एमालेले यो घटनामा संयमता अपनाएकाले घटनाले ठूलो रूप लिन पाएन।’

प्रतिक्रिया दिनुहोस्