बैतडीमा मतगणनाको तयारी पूरा, आज ५ बजेदेखि मतगणना हुँदै



विनोदसिंह विष्ट, बैतडी
बैतडीमा बिहीबार साँझदेखि हुने मतगणनाको तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। मंसिर १० गते सम्पन्न भएको प्रदेशसभा र प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना लागि आवश्यक तयारी पूरा भएको मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद गौतमले जानकारी दिनुभयो। मतगणनास्थलमा तारजालीको व्यवस्था, विद्युत् जेनेरेटरको व्यवस्था गरिसकिएको छ। मतगणना कार्यलाई व्यवस्थित बनाउन बुधबार राजनीतिक दलका प्रतिनिधि र उम्मेदवारसँग बैठक गरी विभिन्न निर्णयहरूसमेत गरिएका छन्। उहाँले भन्नुभयो– ‘मतगणना बिहीबार साँझ ५ बजेदेखि शुरू गर्ने, प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना एकैसाथ शुरू गर्ने सहमति भएको छ।’

प्रदेशसभाको दुवै क्षेत्रको मतगणना दशरथचन्द नगरपालिकाको हलमा गरिनेछ भने प्रतिनिधिसभाको मतगणना दशरथचन्द नगरपालिकाका कोठामा गरिने भएको छ। प्रत्यक्षतर्फको मतगणना सकिएपछि मात्रै समानुपातिकतर्फको मतगणना गरिने मुख्य निर्वाचन अधिकृत गौतमले जानकारी दिनुभयो।

निर्वाचनसम्पन्न भएपछि दशरथचन्द नगरपालिकामा मतपेटिका भण्डारण गरिएको छ भने सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरीले मतपेटिकाको सुरक्षा गरिरहेका छन्। मतपेटिका सुरक्षाका लागि राजनीतिक दलका प्रतिनिधिले पनि पहरा दिइरहेका छन्। लोकतान्त्रिक गठबन्धन र वाम गठबन्धनका पदाधिकारीहरूले मतपेटिकाको सुरक्षाका लागि पहरा दिइरहेका हुन्।

१ लाख ३२ हजार ३ सय १९ मतदाता रहेको बैतडीमा प्रतिनिधिसभा तथा प्रदेससभाको निर्वाचनमा ७६ हजार ३४३ मतदाताले मात्रै मतदान गरेका थिए। बिहीबार साँझदेखि मतगणना शुरू हुने भएपछि मतदाताहरू पनि उत्साहित भएका छन्। निर्वाचन भएको झन्डै ११ दिनपछि मतगणना शुरू हुने भएपछि कसले बाजी मार्ला भन्ने अड्कलसमेत काट्न थालेका छन्।

यसैबीच मतपरिणाम नआउन्जेलसम्म बैतडी सदरमुकाममा मदिरा बेचबिखनमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालयले होटेल व्यवसायीहरूसँग अन्तक्र्रिया गरेर बिहीबारदेखि मतगणना हुने भएकाले मदिराको कारोबार रोक लगाउने विषयमा छलफल भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्