दृष्टिविहीन मतदाताको गुनासो – “रोजेको उम्मेदवारलाई भोट हाल्न पाउँदैनौं”



प्रकाश पन्त, वीरेन्द्रनगर
सुर्खेतका दृष्टिविहीन मतदाताले आफूले रोजेको उम्मेदवारलाई भोट हाल्ने वातावरण सृजना गर्न माग गरेका छन्।

यसअघि भएको स्थानीय तहको निर्वाचनको उदाहरण दिँदै उनीहरूले स्थानीय निकायको चुनावमा आफूले रोजेको उम्मेदवारलाई भोट हाल्न नपाएको उल्लेख गुनासो गरेका छन्। दृष्टि कमजोर भएका कारण आफूहरूको मत घर परिवारका अरु सदस्यले हाल्ने हुँदा आफूहरूको भन्दा पनि घरका सदस्यको रोजाइको दल वा उम्मेदवारको पक्षमा मतदान हुने गरेको उल्लेख गरेका छन्।

सुर्खेतको वीरेन्द्रनगरमा भएको मतदाता शिक्षासम्बन्धी कार्यक्रममा उनीहरूले आफूलाई सहयोगीले नै झुक्याएर भोट हाल्दा आफनो रोजाइको उम्मेदवारलाई भोट हाल्ने अधिकारबाट पूर्णरूपमा वञ्चित भएको अनुभूति गरेको दृष्टिविहीनहरूले बताएका छन्।

नेत्रहीन संघ सुर्खेतका सचिव सोमना खड्काले सहयोगीमार्फत् भोट हाल्दा गोपनियता भंग हुने भन्दै मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा विकल्प खोज्न निर्वाचन आयोगलाई
आग्रह गर्नुभयो। अबका निर्वाचनमा आयोगले मेसिन वा ब्रेललिपीसहितको मतपत्रबाट भोट हाल्ने व्यवस्था गर्नुपर्ने उहाँले माग गर्नुभयो।

अधिवक्ता दुर्गाप्रसाद सापकोटाले दृष्टिविहीनहरूले उठाएको माग जाहेज भएको उल्लेख गदै समस्या समाधानको लागि सबै गम्भीर हुनुपर्नेमा जोड दिनुभयो। एकल महिला समाज सुर्खेतका अध्यक्ष शितलसिंह राठौरले महिला, जेष्ठ नागरिक र दृष्टिविहीनहरूलाई आफ्नो रोजाइको उम्मेदवारलाई भोट हाल्ने कुरालाई सुनिश्चित गर्नुपर्ने बताउनुभयो।
जिल्ला निर्वाचन कार्यालय सुर्खेतकी सुनिता थापाले दृष्टिविहीनहरूले गरेको संकेतको आधारमा उनीहरूको मत आफन्तको रोवहरमा मतदान अधिकृतले हाल्न सक्ने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्