उमेर नपुग्दै गर्भवती हुनेको संख्या बढ्दो



भगवती तिमल्सिना, काठमाडौं
नेपालमा परम्परागत तथा धार्मिक प्रचलनअनुसार रजस्वला नहुँदै गरिने विवाहले पुण्य प्राप्ति हुन्छ भन्ने अन्धविश्वासलाई कानुनीरूपमा रोक लगाइए पनि व्यावहारिकरूपमा भने अझै रोकिएको छैन।

सानै उमेरमा गर्ने विवाह जनस्वास्थ्यका दुष्टिकोणले निकै हानिकारक हुने काठमाडौं विश्वविद्यालय शिक्षण अस्पताल धुलिखेलका प्रसूति विशेषज्ञ डा. आभा श्रेष्ठ बताउनुहुन्छ।

उहाँ भन्नुहुन्छ– ‘आफूले गरेको अध्ययन अनुसन्धानअनुसार सानै उमेरमा विवाह गरी गर्भवती हुने महिला उच्च जोखिममा रहने गर्दछन्। कम उमेरका महिलाको शारीरिक बनोट नै गर्भवती हुनका लागि पूर्णरूपमा तयार भएको हुँदैन।’

उहाँका अनुसार सानो उमेरका युवतीको शरीरको तल्लो भागको (पाठेघर थाम्ने पेलिबेस) हड्डी जुन सेभमा बन्नुपर्ने हो त्यो बनेकै हुँदैन। पाठेघर यही हड्डीमा अडिने गर्दछ। सानो उमेरमा गर्भवती हुँदा गर्भपतन हुने, एकपटक गर्भपतन भएपछि अर्कोपटक गर्भ नरहने (बाँझोपन) हुने, बच्चा बस्ने ट्युब नै बन्द हुने डरसमेत उच्च रहने गरेको छ।

उमेर नपुग्दै गरिने विवाहलाई कानुनी र व्यावहारिकरूपमै रोकिनुपर्ने र स्वास्थ्य शिक्षा विद्यालय शिक्षाको पाठइ्क्रममा समावेश गर्ने होइन प्रजनन स्वाथ्यसम्बन्धी ज्ञान व्यवहारिकरूपमा दिइनुपर्ने डा. श्रेष्ठ बताउनुहुन्छ । विवाह २० वर्षको उमेर पुगेपछि मात्र गर्नुपर्छ भन्ने चेतना जगाउनुपर्ने बताउँदै डा. श्रेष्ठ भन्नुहुन्छ– ‘यदि उमेर नपुग्दै यौन सम्पर्क गर्नुपरेमा परिवार नियोजनको साधन प्रयोग गरी गर्भ रहनबाट रोक लगाउनुपर्छ।’
शारीरिक तथा मानसिकरूपमा तयार नै नभई बालविवाह गर्नु धर्म नभएर महापाप भएको डा. श्रेष्ठ बताउनुहुन्छ।

‘अपरिपक्व उमेरका कतिपय महिलामा आफू गर्भवती भएको समेत ज्ञान हुँदैन। गर्भवती हुँदा के–कसरी र कुन समयमा जचाउने भन्ने थाहा नहुँदा कम उमेरमा गर्भवती भएका महिलाले ३ महिना कटिसकेपछि मात्र आफू गर्भवती भएको थाहा पाउँछन्। यस्ता महिला अस्पतालमा आउँदासमेत लजाएर आफ्ना कुरा भन्न सक्दैनन्। कतिपयले त शरीरको गुप्तांगमा चिकित्सकले परीक्षण गर्दासमेत मलाई किन चिमोटेको भन्ने गर्छन्।’ –डा. श्रेष्ठले भन्नुभयो।

विशेष गरी १८ वर्ष नपुगेका र ३५ वर्ष कटेका महिला गर्भवती हुँदा जोखिम उच्च रहन्छ भने उच्च रक्तचाप देखापर्नुका साथै प्रजनन स्वास्थ्यको ज्ञानको अभावमा अपरिपक्व उमेरका गर्भवती २⁄३ दिनदेखि बच्चा पाठेघरको मुखबाट तल निस्कँदासमेत च्यापेर अत्यन्तै जोखिम अवस्थामा अस्पताल पुग्ने गरेको डा. श्रेष्ठ बताउनुहुन्छ। पेटमा रगत धेरै बगेको छ भने आमा र बच्चा दुवैलाई अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गराउनुपर्ने हुन्छ।

आर्थिक र शारीरिक दुवैरूपमा कमजोर हुनुका साथै परिवार र राज्यलाई समेत यसले आर्थिक भार थप्ने हुनाले सरकारले समयमै सचेतना फैलाउनुका साथै परिवार नियोजनका साधनको पहुँच र प्रयोग विधिका बारेमा ज्ञान सर्वसाधारणसम्म पुर्याउनुपर्नेमा उहाँले जोड दिनुभयो।

विशेष गरी वैदेसिक रोजगारीमा जाने युवाले विवाह गर्ने र तत्काल गर्भवती बनाइ विवाह गरेको महिना दिन पनि नबित्दै विदेश जाने, आफू विदेश जाँदा आमाबुबालाई साथीका रूपमा श्रीमती विवाह गर्ने र गर्भवती बनाएर छोड्ने गर्दा पारिवारिक र सामाजिक समस्या निम्तिने गरेको छ।

वैदेसिक रोजगारीमा जाने युवाले विवाह गर्नेबित्तिकै श्रीमतीलाई गर्भवती बनाउनुभन्दा परिवार नियोजनका साधन प्रयोग गरी स्वस्थ श्रीमतीलाई घरमा छोडेर जाने या वैदेसिक रोजगारीमा गएर आर्थिकरूपमा सम्पन्न भएपछि मात्र विवाह गर्ने र बच्चा जन्माउने सोच गर्नु उत्तम हुने डा.श्रेष्ठको ठम्याइ छ।

परिवार स्वास्थ्य महाशाखाका प्रमुख नरेशप्रसाद केसीले अहिलेका युवायुवती परिवार नियोजनका साधन प्रयोग गर्न नरुचाउने देखिएको अवस्थामा थप जनचेतनासहित ग्रामीण भेगमा समेत परिवार नियोजनका साधन प्रयोग गर्न पहुँच पुर्याउने योजना रहेको बताउनुहुन्छ। नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षण २०१६ ले नेपालमा विगतको तुलनामा हाल ५ वर्ष मुनिका बालबालिका बढी मात्रामा बाँचेको सूचित गरेको छ। सन् १९९६ मा बालबालिकाको मृत्युदर प्रति १ हजार जीवित जन्ममा १ सय १८ रहेकोमा २०१६ मा पुग्दा तीन गुणा घटेर ३९ मा झरेको उल्लेख गरेको छ।

५ वर्ष मुनिका बच्चामा भने २५ जीवित जन्ममा १ को मृत्यु हुने गरेकोले नवजात शिशु मृत्युदर उच्च नै रहेको छ। नेपालले ‘दिगो विकास लक्ष्य’ अन्तर्गत सन् २०३० सम्ममा ५ वर्ष मुनिका बालबालिकाको मृत्युदर प्रति १ हजार जीवित जन्ममा २० मा झार्ने प्रतिवद्धता गरेको छ।

प्रतिक्रिया दिनुहोस्