ईश्वरराज ढकाल सिसडोल, नुवाकोट
सरकारले तीन वर्षअघि ठेक्का दिएको बाटो ठेकेदार कम्पनीले बनाउन नसक्दा राजधानीको फोहोर व्यवस्थापनमा समस्या उत्पन्न भएको छ।
बालाजुदेखि रानीपौवासम्मको २१ किलोमिटर बाटो निर्माण गर्ने जिम्मा पाएको शैलुङ कन्ट्रक्सनले समयमै बाटो स्तरोन्नति नगर्दा सवारी साधन गुड्नसमेत समस्या भएको छ। काठमाडौं महानगरपालिकाले पटकपटक आग्रह गर्दा निर्माण कम्पनीले बेवास्ता गरेको छ।
निर्माण कम्पनीका कन्ट्याक्ट मेनेजर शेखर आचार्यले बाटो निकुञ्जभित्र परेका कारण निर्माणमा समस्या परेको बताउनुभयो। त्रिशूली जाने मूल सडकका रूपमा रहेको सो क्षेत्रमा सडक स्तरोन्नति हुन नसक्दा एक घण्टाको बाटो पार गर्न तीन घण्टासम्म लाग्ने गरेको छ। बालाजुदेखि मुड्खुसम्म चार किलोमिटर सडक शिवपुरी राष्ट्रिय निकुञ्जको क्षेत्रभित्र पर्ने भएपछि सो क्षेत्रमा काम गर्न समस्या परेको मेनेजर आचार्यले बताउनुभयो। ‘हामीले होइन, सरकारकै कारण समस्या भएको हो।’ –उहाँले भन्नुभयो। शिवपुरीबाहेक ओखरपौवानजिक एक किलोमिटर बाटोसमेत निकुञ्ज क्षेत्रमा परेको छ।
‘ठाउँ–ठाउँमा बिजुलीको पोल ढलेको छ। जताततै खाल्डाखुल्डी छ। बाटो निर्माणको जिम्मा लिएको ठेकेदारले चासो देखाएको छैन।’ –कामपा वातावरण व्यवस्थापन विभाग प्रमुख रवीनमान श्रेष्ठले भन्नुभयो।
उहाँले सरकारले चासो नदेखाएका कारण बाटो विस्तारमा गम्भीर समस्या परेको बताउनुभयो। तर ठेकेदार कम्पनीले भने सरकारले बाटो स्तरोन्नति गर्दा देखिने समस्या समाधान गरिदिए सजिलै बाटो विस्तार गर्न सक्ने दाबी गरेको छ। ‘बिजुलीको पोल नहटाइदिएपछि हामीले पोल छाडेर काम गरेका छौं।
बाटो बिस्तारको क्रममा पर्ने घर भत्काउन नमानेपछि घर भत्काउन छाडेरै काम गरेका छौं–मेनेजर आचार्यले भन्नुभयो।
कामपाका फोहोर ढुवानी गर्ने चालक मचावावु मालाकारले सरकारले बाटो नबनाउदा समस्या परेको बताउनुभयो। हामी त आजित भैसकेका छौ, दैनिक ३ ट्रिप सम्म फोहोर बोक्न सक्ने अवस्था भएपनि एक ट्रिप मात्रै बोक्नुपर्ने बाध्यता छ। जताततै खाल्डाखुल्डी कसरी सवारी चलाउने ? उहाले भन्नुभयो। वालाजुदेखि रानीपौवा सम्मको बाटो विस्तार गर्न सरकारले २७ करोड रुपिया बजेट छुट्याएको छ। तीन वर्षसम्म पनि बाटो बिस्तार हुन नसकेपछि फोहोर व्यवस्थापन गर्न समस्या पर्न थालेको कामपाका भौतिक विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले बताउनुभयो।
सरकार गम्भीर हुन नसक्दा यस्तो समस्या आएको हो। हामीले काम नगर्ने भनेका होइनौ, सरकारले समस्या समाधान गर्ने उपाय ननिकालिदिदा समस्या बढेको छ–ठेकेदार कम्पनीका आचार्यले भन्नुभयो। अति नै भएपछि हामीले सो क्षेत्रका सांसद रामविर मानन्धरसंग गुहार गर्यौ, उहाले पनि चासो दिनुभएन–चालक मालाकारले भन्नुभयो।
बाटो बिस्तार नहुदा सवारी साधनले बोक्ने गरेको फोहोर समेत बाटोमै खस्न थालेको छ। जताततै खाल्डै खाल्डा छ, बाटोमा सवारी साधनले फोहोर खसाल्ने बित्तिकै स्थानियले फोहोर बोकेको गाडी बन्द गर्ने गरेका छन–वातावरण विभाग प्रमुख श्रेष्ठले भन्नुभयो।
शुरू भयो पिच
ठेकेदार कम्पनीको बदमासीका कारण बाटो विस्तार हुन नसकेको समाचार प्रकाशित भएपछि वनमन्त्री विक्रम पाण्डेको स्वामित्वमा रहेको कालिका जेभी प्यासिफिक ज्वाइन्ट भेन्चर कम्पनीले पुनः पिच गर्ने काम शुरू गरेको छ। २०७१ सालमा १३ करोड २६ लाख रुपियाँमा ठेक्का लिएको ८ किलोमिटर बाटोमध्ये ५ किलोमिटर पिच गरी अन्य काम अलपत्र छोडेको थियो। नेपाल समाचारपत्रमा उक्त समाचार प्रकाशित भएपछि ठेकेदार कम्पनीले काम थालेको छ।
‘हामीले भनिसकेका छौं। अबको एक महिनाभित्र ८ किलोमिटर बाटोको सम्पूर्ण काम सकिने छ।’ –कामपा भौतिक विकास विभाग प्रमुख डा. उत्तरकुमार रेग्मीले भन्नुभयो। उहाँले सरकारले जिम्मा दिएको बालाजु–रानीपौवासम्मको बाटो भद्रगोल भएपछि हामीले थालेको बाटो पूरा गर्ने बताउनुभयो। मन्त्री पाण्डेका ज्वाइँ ठाकुर कँडेलले सो बाटो ठेक्का लिनुभएको थियो। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले तत्काल बाटो विस्तार गर्न ठेकेदारलाई समेत आग्रह गर्नुभएको थियो। बाटो विस्तारको अनुगमन गर्न पुगेको विभागीय प्रमुख रेग्मीसहितको टोलीले मेयर शाक्यलाई बाटोको प्रगतिको विषयमा जानकारी गराएका थिए।











प्रतिक्रिया