४१० जनाको रगत परीक्षण, ४४ जनामा सिकलसेल

0
Shares

नेपाल समाचारपत्र, बाँके ।  बाँकेको दुई वटा थारुगाउँमा असार अन्तिममा सिकलसेल एनिमिया जाँच्नका लागि रगत संकलन गरियो । थारु जातीमामात्रै देखिएको यो रोगको अवस्था बुझ्न रगत संकलन गरिएको थियो । टिटिहिरिया र बैजापुरमा गरिएको परीक्षणमा ४४ जनामा सिकलसेल भेटिएको छ ।

बैजापुर र टिटिहिरियामा गरिएको रगत परीक्षणमा दुई जना रोगी र ४२ जना ‘बाहक’ भेटिएको भेरी अञ्चल अस्पतालका प्राविधिक प्रदीप वलीले जानकारी दिनुभयो । ‘हामीकहाँ ४ सय १० जनाको स्याम्पल आएको थियो, त्यसमा २ जनामा असर नै देखिएका भेटिए भने ४२ जना बाहक भेटिए, प्राविधिक वलीले भन्नुभयो, बाहकमा अहिले नै रोगको असर देखिदैन । तर, उसबाट सन्तान–दरसन्तानमा रोग सर्दै जान्छ ।’

रोगी नै देखिएका दुवै जना टिटिहिरियाका हुन् । यी दुईमा शरीर दुख्नेलगायतका समस्या देखिइसकेको छ । सिकलसेल भएका र सन्तानमा सर्दै गएको तर अहिले नै रोगको असर देखिइनसकेका गाउँमा धेरै रहेको अध्ययनले देखाएको छ । सिकलसेल सन्तानमा सर्दै जाने रोग हो ।

जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले नमूना संकलन गरेको थियो । जिल्लामा यसअघि पनि यस्तो परीक्षण भएका छन् । साउन २१ गते टिटिहिरियामा आयोजना गरिएको एकीकृत स्वास्थ्य शिविरमा पनि एक सय ९० जनाले सिकलसेलको परीक्षण र उपचार लिएका थिए ।

नवलपरासीदेखि कञ्चनपुरसम्मका थारु समुदायमा सिकलसेलको प्रकोप देखिएको छ । थारु समुदायमा यो जनस्वास्थ्य समस्याकै रुपमा रहेको छ । सरकारले पछिल्लो वर्षमा एक लाखसम्मको औषधी निशुल्क दिने व्यवस्था गरेको छ । त्यसका लागि स्थानीय निकाय हुँदै जिल्ला जनस्वास्थ्य कार्यालयको पत्र लिएर आउनु पर्छ ।

भेरी अञ्चल अस्पताल, नेपालगञ्ज र सेती अञ्चल अस्पताल, धनगढीबाट सिकलसेलका बिरामीलाई निशुल्क औषधी उपचारको व्यवस्था मिलाइएको छ । निशुल्क उपचारको व्यवस्था मिलाइएपनि अझै दूरदराजका थारुबस्तीमा जनचेतना नपुग्दा सबैले सेवा लिन पाएका छैनन् । गाउँमा टोली जादा ‘चेक गरौंन’ भनेर आउनेहरु अधिक छन् । सरकारले पनि लक्षणहरु बताएर यस्ता हुँदा भेरी अञ्चल अस्पतालमा आउनुस् निशुल्क उपचार हुन्छ भन्न सकेको छैन ।

सिकलसेल रोग भनेर उपचार गर्न थालेको नेपालमा धेरै भएको छैन । भेरी अञ्चल अस्पतालका डा. राजन पाण्डेलगायतको टोलीले सिकलसेल भनेर उपचार गर्न थालेपछि देशव्यापी भएको हो । त्यसअघि थारु समुदायका मानिसहरु सिकलसेल भएपनि अरु रोगको औषधी खादै मृत्युवरण गरिरहेका थिए ।

तराईमा औलोको महामारी देखिदा थारु समुदाय त्यससँग जुँधेर बसेका थिए । औलोसँग लडेर बाँचेकाहरुमा सिकलसेल भएको विज्ञहरु बताउँछन् । ‘त्यतिबेला वनजंगल फडानी गरेर तराईमा बसेका थारु समुदाय व्यक्तिहरु औलोसँग लडेर जो बाँचे उनीहरुमा सिकलसेल भयो, लड्न नसक्नेहरु मरे, रोग सम्बन्धी जानकारी दिंदा विज्ञहरुले भन्ने गरेका छन् ।

उपचारका साथै सिकलसेललाई सन्तानमा सर्न नदिन फरक समुदायमा विहेवारी चलाउनु पर्ने बताइएको छ । सिकलसेल भएकासँग नै विहेवारी गर्दा सन्तान, दरसन्तानमा जाने संभावना बढ्छ । फरक समुदायका व्यक्तिमा विहेवारी गर्दा सिकलसेल सन्तानमा नदेखिने बताइएको छ । रोगको पहिचान भइसकेकाले विगतमा जसरी रोग नै थाहा नपाएर अकालमै मर्नुपर्नेबाट भने थारु समुदायले छुटकारा पाउदै आएका छन् ।