पुष्कर बुढाथोकी, भक्तपुर ।
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नयाँ शक्ति पार्टीका संयोजक डा बाबुराम भट्टराईको स्वास्थ्य अबस्था बुझ्न आज भक्तपुर गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पताल पुग्नुभएको छ ।
गत शुक्रबार प्रोष्टे«ट ग्ल्याण्ड मूत्रथैलीको शल्यक्रिया गरी उपचारार्थ भर्ना हुनुभएका डा भट्टराईको स्वास्थ्य अवस्था बुझ्न आज अपराह्न अध्यक्ष ‘प्रचण्ड’ अस्पताल पुग्नुभएका हो ।
पूर्वप्रधानमन्त्री समेत रहनुभएका प्रचण्डलेले पूर्वप्रधानमन्त्री डा भट्टराईको उपचारमा संलग्न चिकित्सकसँग स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै उहाँको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको थियो । शल्यक्रियामा संलग्न प्रा डा राकेश बर्मासँग करिब १५ मिनेट जानकारी लिएपछि दुवै नेताबीच मात्रै करिब आधा घण्टा छुट्टै छलफल भएको थियो ।
भेटपछि संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले डा भट्टराईसँग उहाँको स्वास्थ्य अबस्था र वर्तमान राजनीतिक परिवेशबारे छलफल भएको बताउनुभयो । उहाँले डा.भट्टराईको उपचारको क्रम चलिरहेको र स्वास्थ्यमा क्रमिक सुधार भइरहेको चिकित्सकको भनाइ रहेको उल्लेख गर्दै उहाँ छिट्टै घर फर्किने विश्वास व्यक्त गर्नुभयो ।
करिब एक वर्षदेखि नियमित रुपमा डा भट्टराईको मूत्रथैलीको परीक्षण आफूले गरिरहेको बताउँदै प्रा डा बर्माले हाल पिसाबमा बढी खराबी आएका कारण शल्यक्रिया गरिएको बताउनुभयो । शल्यक्रियापछि तीन दिनसम्म पिसाब नलीमा पाइप राखेर आज बिहान निकालिएको छ ।











प्रतिक्रिया