राप्रपाद्वारा ६ सांसद निष्कासित

0
Shares

 

काठमाडौं, (नेस)
पार्टी विभाजन गरी पार्टी हित, एकता र स्वार्थमा आघात पुग्ने गरी गैरजिम्मेवारीपूर्ण कार्य गरेको भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले सांसदसहित १६ जना केन्द्रीय सदस्यलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी ६ वर्षका लागि निष्कासन गरेको छ। निष्कासनमा पर्ने ६ सांसदमध्ये तीन जना केन्द्रीय सदस्य छैनन्।

सोमबार बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले सांसद तथा केन्द्रीय सदस्यहरूलाई निष्कासन गरिएको हो। आइतबार पार्टी फुटाएर पशुपतिशमशेर राणाको नेतृत्वमा दल दर्ता गरेको सन्दर्भलाई लिएर बसेको आकस्मिक बैठकले सांसदहरू दीपक बोहोरा, सुनील थापा, रेशम लामा, विराज विष्ट, राज्यलक्ष्मी श्रेष्ठ र बबिना मोक्तानलाई कारबाही गरेको हो। कारबाहीमा पर्ने सांसदमध्ये बोहोरा, थापा र लामा केन्द्रीय सदस्य हुन्।

अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको आकस्मिक बैठकले निष्कासन गरेका केन्द्रीय सदस्यहरूमा प्रविन चाम्लिङ, हरिबहादुर बस्नेत, पदमबहादुर बस्नेत, नवराज सुवेदी, विष्णुविक्रम थापा, विन्दा गिरी, सगुनसुन्दर लावती, दीपककुमार राई, विन्दु पहाडी, प्रदीपकुमार उदय, किरण गिरी, राजेन्द्रप्रसाद श्रेष्ठ र गिरिधर परियार रहेका छन्।

राप्रपाका प्रवक्ता भुवन पाठकले जानकारी दिएअनुसार बैठकले राष्ट्रिय प्रजातन्त्र पार्टीको ऐतिहासिक एकता महाधिवेशन सम्पन्न भएको छ महिना नबित्दै पार्टी विभाजन गर्ने कार्य दुर्भाग्यपूर्ण भएको भन्दै यस घटनाले सम्पूर्ण पार्टी कार्यकर्ता, सहयोगी र शुभचिन्तकहरूलाई दुःखित र चिन्तित तुल्याएको निष्कर्ष निकालेको थियो। बैठकले यस कठिन घडीमा कत्ति पनि विचलित नभई पार्टीको सिद्धान्त, विचार र आदर्शप्रति प्रतिबद्ध रहन पार्टीका सबै तहका कार्यकर्ताहरूमा आह्वान पनि गरेको थियो।

आज मंगलबार पुनः बस्ने गरी स्थगित भएको बैठकले पार्टीको एकता र बृहत्तर हितलाई दृष्टिगत गर्दै अज्ञानता र भ्रमवश बाटो विराएका केन्द्रीय सदस्य र सांसदहरूलाई पार्टीको मूल प्रवाहमा फर्कन आह्वानसमेत गरेको थियो।
अध्यक्ष कमल थापाले पार्टी एकलौटी ढंगले सञ्चालन गरेको भन्दै शीर्ष नेता पशुपति शमशेर राणासहित ७२ जना केन्द्रीय सदस्यहरू फुटेर छुट्टै पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ता गराएका थिए। एकीकरणपछि कुल ३७ जना सांसद रहेको राप्रपामा २२ जना सांसद पनि छुट्टिएर राणा नेतृत्वको दलमा गएका थिए।