प्रमसँग आयोगका पदाधिकारी घोषणा होला त भदौ १ भित्र केन्द्रीय चुनाव ?

0
Shares

 

नेपाल समाचारपत्र
काठमाडौं
र्वाचन आयोगले प्रतिनिधिसभाको निर्वाचनको मिति आगामी भदौ १ गतेभित्रै घोषणा गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आग्रह गरेको छ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवसहितको टोलीले सोमबार भेटी सो सुझाव दिएको हो।

भेटमा उहाँहरूबीच आगामी निर्वाचनको मिति तोक्ने विषयमा केन्द्रित रहेर छलफल भएको आयोगले जनाएको छ। निर्वाचनका लागि अति आवश्यक कानुन र निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदनका विषयमा पनि आयोगको टोलीले प्रधानमन्त्रीसँग विस्तृत छलफल गरेको थियो।

भेटका अवसरमा प्रधानमन्त्रीले केन्द्र र प्रदेशको निर्वाचन एकैपटक गर्ने गरी तयारी गर्न आयोगलाई आग्रह गर्नुभएकोमा आयोगका पदाधिकारीहरूले विद्युतीय मेसिनको प्रयोग गरे मात्रै त्यो सम्भव हुने बताउनुभएको थियो। सो बारेमा प्रधानमन्त्रीले छोटो समय भएकाले विद्युतीय मेसिनको तयारी गर्न कतिको सम्भव छ भन्ने जिज्ञासा राख्नुभएको बताइएको छ।
यसैबीच प्रदेश सभा सदस्य निर्वाचनसम्बन्धी विधेयक २०७४ माथिको सैद्धान्तिक छलफल सकिएको छ। संसद्को राज्य व्यवस्था समितिमा आइतबार र सोमबार संशोधन दर्ता गराएका सांसदसँग छलफल भएको छ।

विधेयकको ३५ वटा विषयमा २ सय ५९ वटा संशोधन दर्ता भएका थिए। संशोधन दर्ता गराएका सांसदहरूले सो विधेयकमाथिको सैद्धान्तिक छलफलका क्रममा प्रदेश सभा सदस्य निर्वाचनमा महिलाको सहभागिता बढाउने गरी ऐन बनाउनुपर्ने बताउनुभएको थियो।

त्यसै गरी निर्वाचनमा बराबरी मत ल्याएका उम्मेदवारलाई गोला प्रथाबाट विजयी गराउँदा जनमतको अवमूल्यन हुने गरेको भन्दै बराबरी समय कार्यकाल सम्हाल्ने अवसर दिने गरी ऐन बनाउनुपर्ने सांसदहरूले धारणा राख्नुभएको थियो।

बैठकमा निर्वाचनको खर्च कटौतीसम्बन्धी पनि छलफल भएको थियो। खर्च कटौतीका विषयमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको खर्च कटौती गर्न अहिलेको निर्वाचन प्रणाली नै परिवर्तन गर्नुपर्ने बताउनुभयो।

उहाँले पूर्ण समानुपातिक प्रणाली अवलम्बन गर्नुपर्ने धारणा राख्नुभयो।
उहाँले सरकारले नै पहल गरेर अथवा निर्वाचन आयोगले जारी गर्ने निर्वाचन आचारसंहिता पालना गरे पनि खर्च कटौती गर्न सकिने बताउनुभयो। विदेशमा रहेका नेपालीले मतदान गर्ने विषयमा कार्यविधि बनाउनुपर्ने प्रमुख आयुक्त यादवको भनाइ थियो।

प्रदेशसभाको निर्वाचन मितिसम्बन्धी उठेका प्रश्नमा गृहमन्त्री जनार्दन शर्माले निर्वाचनको मिति तोक्ने विषयमा निर्वाचन आयोगसँग समन्वय भइरहेको बताउनुभयो।

आयोगको भूमिकालाई मजबुत बनाउन सरोकारवालासँग छलफल गरेर अघि बढ्न सरकार तयार रहेको उहाँको भनाइ थियो। मन्त्री शर्माले निर्वाचनको खर्च कटौती गर्ने विषयमा निर्वाचन आयोगले सार्वजनिक गर्ने आचारसंहिताअनुसार नै हुने बताउनुभयो।

 

भारत भ्रमण ७ देखि ११
काठमाडौं, (नेस)
प्रधानमन्त्री शेरबहादुर देउवाले आगामी भदौ ७ देखि ११ गतेसम्म दक्षिणी छिमेकी मुलुक भारतको औपचारिक भ्रमण गर्नुहुने भएको छ।

परराष्ट्र मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले सो जानकारी दिनुभएको हो।

देउवाको भ्रमणअघि चिनियाँ उच्चस्तरीय टोलीले नेपाल भ्रमण गर्ने जानकारी दिँदै मन्त्री महराले सो भ्रमण भूकम्पपछिको पुनर्निर्माणमा चिनियाँ सहयोगबारे केन्द्रित हुने बताउनुभयो। यसैबीच मन्त्री महराले आफ्नो कार्यकालमा नेपालको सम्मान र प्रतिष्ठा अन्तर्राष्ट्रिय जगत्मा चिनाउने गरी आर्थिक कूटनीतिलाई जोड दिने बताउनुभएको छ। सोमबार मन्त्रालयमा ५७ बुँदे तत्कालीन कार्ययोजना सार्वजनिक गर्दै मन्त्री महराले मुलुकको सर्वोच्च हितलाई प्राथमिकतामा राखेर स्वतन्त्र, स्वाधीन परारष्ट्र नीति सञ्चालनका लागि उच्च प्राथमिकता दिइने बताउनुभयो।

परराष्ट्र मन्त्रालयको संरचनात्मक सुधार गर्न पूर्वपरराष्ट्रमन्त्री, पूर्वपरराष्ट्र सचिव, पूर्वराजदूत तथा कूटनीतिक क्षेत्रका जानकारबाट सुझाव लिन सल्लाहकार समिति बनाइने कार्ययोजनमा उल्लेख गरिएको छ। त्यस्तै वैदेशिक रोजगारीलाई सुरक्षित, भरपर्दाे र सम्मानित बनाउन विदेशस्थित नेपाली नियोग र अन्य सरोकारवाला निकायहरूबीचको समन्वयलाई प्रभावकारी बनाउने दाबी गरिएको छ। चीनले अघि सारेको वान वेल्ट वान रोड (ओबीओआर)मा नेपालले हस्ताक्षर गरिसकेकाले सो अभियानबाट नेपालले अधिकतम लाभ लिने गरी अन्तरमन्त्रालय संयन्त्र बनाउने मन्त्री महराले बताउनुभयो।