क्लिरियन्स शुल्कमा चार गुणा वृद्धि गरेपछि आयात ठप्प, केरूङ नाकामा तनाव



नेपाल समाचारपत्र रसुवा । चीनको केरूङका स्थानीय भन्सारका प्रतिनिधिले नेपाल तर्फ निकासी हुने मालवस्तुको क्लिरियन्स शुल्कमा वृद्धि गरेपछि आयात ठप्प भएको छ ।
मालवस्तुको क्लिरियन्स शुल्कमा एकैचोटी अत्याधिक वृद्धि गरेपछि चीनको केरूङ पुगेका नेपाली व्यापारीले सामाग्री लोड नगरि बसेका छन् ।
यसअघि नेपाली व्यापारीले प्रति गाडी एक हजारदेखि १५ सय आरएमवीसम्म तिर्दै आएकोमा अहिले एकैचोटी पाँच हजार आरएमवी पु¥याएपछि सामान आयात ठप्प वनेको हो ।
यसअघि करिव २२ हजार तिर्दै आएकोमा अहिले प्रति गाडी ८० हजार तिर्नपर्ने अवस्था आएपछि नेपाली व्यापारी मारमा परेका छन् ।
रसुवागढी भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार समस्या समाधानका लागि चीनको केरूङस्थित जेलुंगका डेपुटी प्रमुख र भन्सार प्रतिनिधिसँग हिजो छलफल गरिएकोे छ । बैठक सकरात्मक भएको र सोमबारदेखि शुल्क घटाउने सहमती भएको प्रमुख भन्सार अधिकृत पनेरुले वताउनुभयो ।
बैठकमा चीनको तर्फबाट जिलोङ पोर्ट एडमिनिस्ट्रेसका प्रमुख लिउ जियान, जिलोङ भन्सारका प्रमुख याङ फेई, भन्सार एजेन्टका प्रतिनिधि लि चौरेन र दावा सहभागि हुनुहुन्थ्यो ।
यसअघि क्लिरियन्स शुल्क तिव्तीयन सरकारले फिर्ता गरिदिने गरेकोमा यसपटकदेखि फिर्ता नगर्ने निर्णय गरेपछि त्यसको मार नेपाली व्यापारी माथी परेको हो ।
गत आर्थिक वर्षमा लक्ष्यभन्दा बढि राजश्व असुली गरेको कार्यालयले आयात ठप्प भएपछि आर्थिक वर्षको पहिलो महिनामा नै समस्या देखिएको वताउनुभयो । आव ०७३÷०७४ मा दुई अर्ब ४३ करोड राजश्व संकलन लक्ष्य राखेको कार्यालयले दुई अर्ब ९२ करोड राजश्व असुल गरेको थियो ।
यो आर्थिक वर्षको साउनको १३ गतेसम्म एक करोड ६४ लाख राजश्व संकलन गरेको छ । आयात ठप्प भएपछि करिव चार सय मालवाहक कन्टेनरको सामाग्री गोदाममा थन्किएको छ ।
अन्य सामाग्रीको आयात ठप्प भएपनि स्याउ र जलविद्युत आयोजनाको सामाग्री भने आयात भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्