बनेपामा एकै परिवारका ४ जनाको मृत्यु , घटना रहस्यमय



बनेपा, ६ साउन— काभ्रेको बनेपामा एकै परिवारका ४ जनाको रहस्यमय मृत्यु भएको छ । बनेपास्थित बसपार्क नजिकै रहेको गौतम भोजनालयका सञ्चालक हरिभक्त दाहालसहित उनका परिवारका ४ जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख सहकुल थापाले भोजनालय सञ्चालक हरिभक्त दाहाल, उनकी श्रीमती, हरिमाया, छोरा राजाराम दाहाल र छोरी रञ्जनाको मृत्यु भएको शुक्रबार अबेर जानकारी दिए ।

उनले मृत्युको एकीङ कारण खुल्न नसकेपनि घटनास्थलमा विषका खाली बोत्तल भेटिएको जानकारी दिए । अहिले घटनास्थलमा प्रहरी पुगेर मुचुल्का उठाउनुका साथै सोधपुछ कार्यलाई अघि बढाएको छ ।

स्थानीयका अनुसार अरु दिन अबेरसम्म खुल्ने  उक्त भोजनालय आज साँझदेखिनै बन्द थियो भने भोजनालयको झ्यालका  सिसा पनि फुटेका थिए |  सोहि आधारमा केहि घटना घटेको हुन सक्ने आशंकामा उनीहरुले प्रहरीलाई खबर गरेका थिए । सोलगत्तै पुगेको प्रहरी टोलीले चारै जनालाई मृत फेला पारेको बताइएको छ ।

प्रहरीले घटनास्थलमा विषको बोत्तल भेटिएको बताएपनि संकास्पद भएको भन्दै घटनालाई गम्भीरतापूर्वक लिएर अनुसन्धान गर्ने बताएको छ ।
शुक्रबार अबेर अबेरसम्म चारैजना मृतकको शब घटनास्थलमै रहेको छ । प्रहरी प्रमुख थापाले मृतकको शब पोस्टमार्टमको लागि श्री मेमोरियल अस्पतालमा पठाइने र पोस्टमार्टमको रिपोर्ट प्राप्त भएपछि घटनाको थप पाटो खुल्ने विश्वास व्यक्त गरे ।

मृतकहरुको स्थायी घर भने बनेपा नगरपालिका बडा नम्बर २ मा पर्छ ।

प्रतिक्रिया दिनुहोस्