मर्यादाक्रममा को कहाँ ? महानगरपालिकाका मेयर १८औं स्थानमा



 

प्रशान्त वली, काठमाडौं
गृहमन्त्रालयले स्थानीय तहका पदाधिकारीहरूको निर्वाचनपछि उनीहरूलाई समेत समेटेर नयाँ मर्यादाक्रम तयार पारेको छ। जसअनुसार राष्ट्रपतिलाई पहिलो नम्बरको सूचीमा राखिएको छ। हालको परिवर्तित अवस्थामा राष्ट्रपतिलगायत राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रहेका व्यक्तिहरूको मर्यादाक्रमअनुसार राष्ट्रपतिलाई पहिलो नम्बरमा राखिएको गृह मन्त्रालयले जारी गरेको सूचनामा उल्लेख छ। यसै गरी दोस्रो स्थानमा उपराष्ट्रपति, तेस्रो स्थानमा प्रधानमन्त्री, चौथो स्थानमा प्रधानन्यायाधीश र पाँचौं स्थानमा सभामुख रहने व्यवस्था गरिएको छ।

यस्तै, पूर्वराष्ट्रपति र उपप्रधानमन्त्री छैठौं मर्यादाक्रममा रहने प्रावधान राखिएको छ भने मन्त्री, व्यवस्थापिका संसद्को विपक्षी दलका नेता, पूर्वउपराष्ट्रपति, पूर्वप्रधानमन्त्री, पूर्वप्रधानन्यायाधीश, व्यवस्थापिका संसद्का उपसभामुख र पूर्वसभामुख सातौं नम्बरको मर्यादाक्रममा रहने गृह मन्त्रालयको सूचनामा उल्लेख छ।

वरीयताक्रमअनुसार आठौं नम्बरमा राज्यमन्त्री र संविधानसभा तथा व्यवस्थापिका संसद्का विभिन्न समितिका सभापतिहरूलाई समावेश गरिएको छ। योजना आयोगका उपाध्यक्ष र प्रज्ञाप्रतिष्ठानका कुलपति नवौं नम्बरमा रहने गृह मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै, दशौं नम्बरमा सर्वाेच्च अदालतका न्यायाधीश र न्यायपरिषद्का सदस्य तथा ११औं र १२औं नम्बरमा क्रमशः सहायक मन्त्री र संसद्का सदस्यहरू रहने व्यवस्था गरिएको छ।

गृहमन्त्रालयले जारी गरेको सूचनामा मर्यादाक्रमको १३औं नम्बरमा संवैधानिक निकायका प्रमुख, महान्यायाधिवक्ता, नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, संसद् सचिवालयका महासचिव, १४औं नम्बरमा उच्च अदालतका मुख्य न्यायाधीश, राष्ट्रिय योजना आयोगका सदस्य, संवैधानिक निकायका पदाधिकारीहरू, नेपाल राष्ट्र बैंकका गभर्नर, प्रज्ञा प्रतिष्ठानका उपकुलपति र विश्वविद्यालयका उपकुलपति रहने व्यवस्था छ। १५औं नम्बरमा नेपाल सरकारका सचिव, विशिष्ट श्रेणीका कर्मचारी, नेपालस्थित विदेशी राजदूत, सार्कका महासचिव, नेपाली राजदूत, सर्वोच्च अदालतका रजिष्टार, नायब महान्यायाधिवक्ता, पुनरावेदन अदालतका न्यायाधीश रहनेछन्।

वरीयताक्रम अनुसार १६औं नम्बरमा रथी, प्रहरी महानिरीक्षक, सशस्त्र प्रहरी महानिरीक्षक, राष्ट्रिय अनुसन्धान विभागका मुख्य अनुसन्धान निर्देशक, नेपालस्थित संयुक्तराष्ट्र संघीय विकास कार्यक्रमका आवासीय संयोजक रहने व्यवस्था गरिएको छ।

यसै गरी, १७ औं नम्बरमा उपरथी, प्रहरी अतिरिक्त महनिरीक्षक, सशस्त्र प्रहरी अतिरक्त महनिरीक्षक, राष्ट्रि«य अनुसन्धान विभागका अतिरक्त मुख्य अनुसन्धान निर्देशक, १८औं नम्बरमा जिविसका निर्वाचित सभापति र महानगरपालिकाका प्रमुख रहने गरी वरियताक्रम मिलाइएको छ।

गृह मन्त्रालयले जारी गरेको सूचनामा १९ औं नम्बरमा नेपाल सरकारका सह–सचिव, महानिर्देशक, उपमहािनर्देशक जिल्ला न्यायाधीश, राजपत्राङ्कित प्रथम श्रेणीका कमर्चारी, उपमहानगरपालिकाका प्रमुख, नगरपालिकाका प्रमुख, २०औं स्थानमा नेपालस्थित विदेशी कन्सुलर जनरल, नेपालस्थित अन्य अन्तर सरकारी संस्थाका प्रमुख रहने व्यवस्था गरिएको छ।

यसै गरी, २१ औं नम्बरमा सहायक रथी, प्रहरी नायब महानिरीक्षक, सशस्त्र प्रहरी नायब महनिरीक्षक र राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक रहने व्यवस्था मिलाइएको छ। वरियताक्रमको २२औं नम्बरमा महासेनानी, प्रहरी वरिष्ठ उपरीक्षक, सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक, रािष्ट्रय अनुसन्धान विभागका सहअनुसन्धान निर्देशकलाई राखिएको छ।

मयार्दाक्रममा उल्लेख नभएकालाई कुनै सरकारी निकायले कुनै समारोहमा सम्मिलित गराउनुपर्ने अवस्था परेमा वा मर्यादाक्रम निर्धारणका सम्बन्धमा कुनै द्विविधा उत्पन्न भएमा सम्बन्धित निकायले नेपालीको हकमा गृह मन्त्रालय र विदेशीको हकमा परराष्ट्र मन्त्रालयसंग सम्पर्क राख्नुपर्ने व्यवस्थासमेत गरिएको छ।

 

प्रतिक्रिया दिनुहोस्