नेपाल चीन सम्बन्धका विविध आयामबारे छलफल


काठमाडौँ, ४ असार । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपालका लागि चिनियाँ राजदूत यु होङबीच समसामयिक परिस्थिति र नेपाल चीन सम्बन्धका विविध आयामबारे छलफल भएको छ ।

आफ्नो निवास लाजिम्पाटमा आज भएकोे शिष्टाचार भेटमा अध्यक्ष दाहालले आफू प्रधानमन्त्रीमा निर्वाचित भएदेखि नै दुई छिमेकीबीचको सम्बन्धलाई हार्दिक र सन्तुलित बनाउन लागिपरेको र राजीनामा दिने बेलासम्म आफ्नो योजना सफल भएको बताउनुभयो ।

प्रधानमन्त्रीमा निर्वाचित भएलगत्तै चीन र भारतमा विशेष दूत पठाएर सम्बन्धमा थप सुदृढीकरण गरिएको बताउँदै अध्यक्ष दाहालले आफ्नो दशमहिने प्रधानमन्त्रित्वकाल नेपाली राजनीतिमा स्मरणयोग्य रहने विश्वास व्यक्त गर्नुभयो ।
भेटमा चिनियाँ राजदूतले अध्यक्ष दाहालको प्रधानमन्त्रित्वकालमा नेपाल र चीन बीचको सम्बन्ध थप बलियो बनेकामा खुसी व्यक्त गर्नुभयो । उहाँले प्रचण्डको प्रधानमन्त्रित्वकाल अत्यन्तै सफल र वैदेशिक मामिलामा सन्तुलित भएको बताउँदै तथा वैदेशिक सम्बन्ध र आर्थिक विकासका क्षेत्रमा नेपालले हासिल गरेको सफलताप्रति खुसी व्यक्त गर्नुभयो । रासस

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।