५ नम्बरको चुनाव सार्न गरिएको माग प्रमद्वारा अस्वीकार



 

ठाकुरले देउवालाई भेट्न मानेनन्
बीपी साह, काठमाडौं
शनिबार विहान प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय जनता पार्टी नेपालका संयोजक महन्थ ठाकुरलाई भेट्न बोलाउनुभएको थियो। तर ठाकुरले देउवाको आग्रहलाई ठाडै अस्वीकार गर्दै विरोध सभालाई सम्बोधन गर्न नवलपरासीतिर लाग्नुभयो।

प्रधानमन्त्री देउवाले आन्दोलनलाई चर्काउन नहुने भन्दै छलफलको माध्यमबाट समस्याको समाधान गर्न ठाकुरलाई आग्रह गर्नुभएको थियो। ठाकुर निकट स्रोतका अनुसार शनिबार बिहान देउवाले प्रधानमन्त्री निवासमा छलफलका लागि ठाकुरसहितका नेताहरूलाई बोलाउनुभएको थियो। तर ठाकुरले आफूहरूको आन्दोलन नरोकिने बताउँदै आन्दोलनका कार्यक्रम तय भइसकेकाले भेट्नुको औचित्य नरहेको जवाफ दिनुभएको थियो।

राजपाका प्रवक्ता कृष्णा सिंहका अनुसार प्रधानमन्त्री देउवाले टेलिफोनमार्फत ठाकुरलाई वार्ताबाट समस्या समाधान गर्न आग्रह गर्दै छलफलमा आउन आग्रह गर्नुभएको थियो।‘राजपाका नेताहरूलाई काठमाडौंमा अल्झाउन खोजेको भन्दै ठाकुरले देउवालाई भेट्न अस्वीकार गर्नुभयो। ठाकुरसहित राजपाका अध्यक्षहरू नवलपरासीतिर लाग्नुभयो’ –नेपाल समाचारपत्रसँग प्रवक्ता सिंहले भन्नुभयो।

यता शनिबार नै राजपाका अध्यक्ष मण्डलका सदस्य महेन्द्र यादव र प्रधानमन्त्री देउवाबीच छलफल भएको छ। स्रोतका अनुसार माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवको पहलमा महेन्द्र यादव र देउवाबीच छलफल भएको हो।
छलफलमा यादवले ५ नम्बर प्रदेशको निर्वाचन स्थगित गर्न आग्रह गर्नुभएको थियो। अन्तिममा सिंगै ५ नम्बर प्रदेशको निर्वाचन स्थगित हुन नसके नवलपरासी, रुपन्देही र कपिलबस्तु जिल्लाको भए पनि निर्वाचन स्थगित गर्न यादवले आग्रह गर्नुभएको थियो।

स्रोतका अनुसार बैठकमा प्रधानमन्त्री देउवाले राजपाका शीर्ष नेतृत्वले छलफल गर्न अस्वीकार गरेकाले ५ नम्बर प्रदेशको निर्वाचन नरोकिने प्रतिक्रिया दिनुभएको थियो। देउवाले महेन्द्र यादवको प्रस्ताव अस्वीकार गर्दै राजपाका शीर्ष नेताहरू छलफलमा जुटे मात्र केही विषयमा सहमति हुन सक्ने प्रतिक्रिया दिएको जनाइएको छ।

तर नेपाल समाचारपत्रसँग कुराकानी गर्दै राजपा नेता यादवले व्यक्तिगत कारणले प्रधानमन्त्रीसँग भेटघाट गरेको बताउनुभयो। यादवले आफ्नो जिल्लाको कामले आफूले प्रधानमन्त्रीलाई भेट्न गएको प्रतिक्रिया दिनुभयो।

 

प्रतिक्रिया दिनुहोस्