भरतपुरको मुद्दा भोलिलाई सर्यो



 

काठमाडौं, (नेस)
सर्वोच्च अदालतले चितवनको भरतपुर महानगरपालिकाको वडा नं १९ मा पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय तत्काल कार्यान्वयन नगर्न दिएको अन्तरिम आदेश मंगलबारका लागि सरेको छ।

सोसम्बन्धी मुद्दा आइतबार ‘ध’ नम्बरमा रहेकोमा सुनुवाइ गर्न नभ्याएको बताइएको छ। न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ र प्रकाशमानसिंह राउतको संयुक्त इजलासमा आइतबार पेसी तोकिएकामा हेर्न नभ्याइएको हो।

न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले यही जेठ २२ गते भरतपुर महानगरपालिकाको वडा नं १९ मा आइतबारसम्मका लागि आयोगको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थियो।

सर्वोच्च अदालतले विपक्षी निर्वाचन आयोगलाई समेत आइतबार छलफलमा बोलाएको थियो।
सो वडाका खुला सदस्यका उम्मेदवार गुन्जमान विक र अधिवक्ता तुल्सीराम पाण्डेले आयोगको पुनः मतदान गराउने निर्णय बदर गर्न माग गर्दै यही जेठ २१ गते रिट निवेदन दायर गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस्