दूषित पानीले गाउँ नै बिरामी



रोशन पराजुली, हेटौंडा
मकवानपुरको बकैया गाउँपालिकामा दूषित पानी पिउँदा गाउँका एक सयभन्दा बढी बिरामी भएका छन्। बकैया–६, गुडवानमा बलबहादुर लोको घरमा देवालीको समयमा प्रयोग गरिएको खानेपानी दूषित भएका कारण त्यहाँ खाना खाएका पाहुना बिरामी भएका हुन्।

भूकम्पले खानेपानी आयोजनामा क्षति पुर्याएपछि खानेपानीको चरण अभाव झेलिरहेको गाउँमा लोको घरमा देवाली भएका कारण करिब २ घण्टा टाढा कुवाको पानी १५ दिन अघिदेखि संकलन गरेर टइंकीमा राखिएको थियो। देवालीको समयमा त्यही पानी प्रयोग गरिएको र पानी दूषित भएका कारण स्थानीयको स्वास्थ्यमा समस्या आएको हो।

झाडापखाला हुने, पेट दुख्ने, वाकवाकी लाग्ने, वान्ता हुनेजस्ता लक्षण देखिन थालेपछि उनीहरूको उपचार शुरू भएको स्थानीय अमर पाख्रिनले जानकारी दिएका छन्।

बिरामीमध्ये ८० भन्दा बढीको उपचार भइसकेको र बाँकीको उपचार त्यहाँस्थित कालिका प्राथमिक विद्यालयमा भइरहेको पाख्रिनले बताउनुभयो। बिरामी भएकामध्ये स्कुले बालबालिका पनि छन्। सोही कारण विद्यालय बन्द गरिएको छ।

देवालीघरमा खाना खाएको केही समयपछि सबैलाई उस्तै समस्या देखिन थालेपछि स्थानीय तहको निर्वाचनमा वडा नम्बर–६ बाट सदस्य उम्मेदवारसमेत बनेका पञ्चबहादुर लोको अगुवाइमा प्राथमिक स्वास्थ्य केन्द्र छतिवनबाट डाक्टरको उपचार टोली ल्याएर राति नै उपचार थालिएको थियो। हेटौंडाबाट गएको डाक्टरको टोलीले पनि उपचार गरिरहेको छ। बकैयाको उक्त गाउँ पानीको समस्या धेरै अगाडिदेखि ज्युँका त्युँ रहेको छ।
स्थानीयलाई दिनहुँ पानी खोजेर जीवन गुजारा गर्न निकै समस्या परेको छ। स्थानीयबासीले गाउँमा पानीको मुहान सुक्दै गएपछि बस्तीदेखि झण्डै तीन किलोमिटर टाढाबाट पानी बोकेर जीविका चलाउँदै आएका छन्।

भूकम्पका कारण क्षति भएका मकवानपुरका खानेपानी आयोजनाको पुनर्निर्माणको काम निकै सुस्तरुपमा अघि बढेको छ। सरकारले पर्याप्त बजेट बिनियोजन नगर्दा खानेपानीजस्तो महत्त्वपूर्ण पूर्वाधारको पुनर्निर्माणले तीव्रता पाउन सकेको छैन। भूकम्पको कारण जिल्लाका ८ सय २६ खानेपानी आयोजनामा क्षति भए पनि चालु आर्थिक वर्षबाट २४ वटा खानेपानी आयोजनाको मात्र पुनर्निर्माण काम शुरू भएको छ।

जिल्ला खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय मकवानपुरका अनुसार आयोजना पुनर्निर्माणका लागि चालु आर्थिक वर्षमा एक करोड ३८ लाख ८४ हजार रुपियाँ बजेट विनियोजन गरिएकामा २४ वटा खानेपानी आयोजनाको मात्र यस वर्ष पूर्णता पाउनेछ। खानेपानी आयोजनाको पुनर्निर्माणका लागि दुई सय ६८ आवेदन परिसकेको छ।

प्रतिक्रिया दिनुहोस्