बिदा भइन् सुशीला



काठमाडौं, (नेस)
न्यायपरिषद्ले अबको प्रधानन्याधीशका लागि वरिष्ठतम न्यायाधीश गोपालप्रसाद पराजुलीको योग्यता पुगेको संवैधानिक परिषद्लाई जानकारी गराएको छ।

नयाँ प्रधानन्याधीशको नाम बहालवाला प्रधानन्यायधीशले संवैधानिक परिष्दमा पेश गर्ने प्रावधानअनुसार न्यायपरिषद्को अध्यक्षसमेत रहनुभएका प्रधान न्यायाधीश सुशीला कार्कीले आफैंले पत्र लेखेर सो जानकारी गराउनुभएको हो।

प्रधानन्याधीश सुशीला कार्कीको उमेर हदका कारण मंगलबार पदावधि सकिएकाले नयाँ प्रधानन्याधीश नियुक्ती लागि सो जानकारी गराइएको हो। यससँगै संवैधानिक परिषद्ले प्रधानन्यायधीश नियुक्तीको प्रक्रिया अघि बढाउन आधार मिलेको छ। संवैधानिक परिषद्ले बैठक बसेर प्रधान्यायधीश नियुक्तीका लागि सिफारिश गर्ने संवैधानिक प्रावधान रहेको छ।

नेपालको संविधानको धारा २८४ को उपधारा १ मा प्रधानन्यायधीश संवैधानिक निकायका प्रमुख र पदाधिकारीहरूको नियुक्तीको सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा एक संवैधानिक परिषद् गठन हुने व्यवस्था रहेको छ।

यसै गरी सोही धाराको उपाधारा ३ मा संवैधानिक परिषद्ले प्रधानन्याधीश वा संवैधानिक निकायका प्रमुख वा पदाधिकारीको पद रिक्त हुनुभन्दा एक महिनाअघि नियुक्तिका लागि सिफारिस गर्नुपर्ने उल्लेख गरिएको छ। यस पटक सो प्रावधान लागू भएन।

यसैबीच मंगलबार सर्वोच्च अदालतमा एक समारोहकाबीच प्रधानन्यायधीश कार्कीको बिदाई गरियो। सो अवसरमा न्यायाधीशहरू जगदिशराज पौडेल, विश्वम्भर श्रेष्ठ, दीपकराज जोशी, अनिल सिन्हालगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्