मनसुन चाँडै सक्रिय हुने,चुनावको बेलामा के होला अहिले नै भन्न कठिन



टीका बन्धन⁄प्रशान्त वली
काठमाडौं
यस पटक मनसुन नेपालमा विगतका वर्षहरूभन्दा केही दिन छिटो भित्रिने भएको छ। मनसुन यही साता भित्रिने भएपछि आगामी असार १४ गतेका लागि तय गरिएको दोस्रो चरणको स्थानीय निकायको निर्वाचन प्रभावित हुने सम्भावना बढेको छ।

केही दिनयताको मौसमी गतिविधि, भू–उपग्रहको तस्वीर र अन्य मौसमी सूचनाका आधारमा मनसुन विगतका वर्षहरूमा भन्दा छिटै भित्रिने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। विगत ३ साता अघिदेखि मनसुनको पूर्वको संकेतलाई नजिकबाट नियालेका महाशाखाका मौसमविद्हरूले मौसमी सूचना विश्लेषण गर्दै विशेष बुलेटिनमार्फत् यस्तो बताएका हुन्।

मनसुन सामान्यतया नेपालमा हरेक वर्ष जेठ २७ (अंग्रेजी महिनाको जुन १० तारिख) को हाराहारीमा मुलुकको पूर्वी भेगबाट प्रवेश गरी एक साताभित्रमा मुलुकभर फैलिन्छ। तर, यस वर्ष नेपालमा मनसुन २⁄३ दिनअघि नै शुरु हुने प्रणाली विकास भइरहेको उहाँको भनाइ छ।

‘त्यसबेला (निर्वाचनको समयमा) मनसुन शुरु भइसकेको हुन्छ, मनसुन कति सक्रिय वा निस्कृय हुन्छ भनेर अहिले नै भन्न सकिँदैन’ –कँडेलले भन्नुभयो। जल तथा मौसम विभाग मातहतको महाशाखाले ३ दिन अगाडिको मात्र मौसमी सूचना सार्वजनिक गर्दै आएको छ। दक्षिण एसियामा, मनसुन बंगालको खाडी हुँदै उत्तरपूर्वतर्फ फैलने गर्छ। हरेक वर्ष अंग्रेजी महिनाको जुन १ तारिखको हाराहारीमा बंगालको खाडीबाट बहने मनसुनी वायु भारतको केरला हुँदै थाइल्यान्ड, म्यानमार, बंगलादेश, भुटान र फेरी भारत हुँदै मुलुकको पूर्वी भेगबाट भित्रिने गर्छ।

यस पटक केरलामा जुन १ मा शुरु भएको मनसुन गत शुक्रबार भुटान आइपुगेकाले नेपालमा विगतका वर्षहरूमा भन्दा छिटो भित्रिने मौसमविद्हरूको आँकलन छ। नेपालमा मनसुन अघिल्ला वर्षहरूमा भने एकदेखि डेढ साता ढिलो भित्रिएको थियो। गत वर्ष ५ दिन र २ वर्षअघि १० दिनपछि मात्र नेपालमा मनसुन सक्रिय भएको थियो। निर्वाचनको मितिसम्मको मनसुनी सूचना अहिले यकिन गर्न नसकिए पनि यही हप्ता भित्रिने मनसुनको धेर⁄थोर प्रभाव भने त्यो बेला प्रस्टरूपमा महसुस गर्न सकिने अर्का मौसमविद् समीर श्रेष्ठले बताउनुभयो।
नेपालसँग पर्याप्त उपकरण नभएकाले धेरै दिनपछिको मौसमी सूचना अगाडि सार्वजनिक गर्न समस्या रहेको विभागका उप–महानिर्देशक एवं महाशाखा प्रमुख डा. जगदीश कर्माचार्य बताउनुहुन्छ। उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पानी पर्ने या नपर्ने संकेत एक हप्ता अगाडि गर्न सकिन्छ, तर निर्वाचनको मितिसम्मको भन्न प्राविधिकरूपमा कठिनाइ छ।’

निर्वाचनको मितिसम्मको मनसुनी सूचना अहिले यकिन गर्न नसकिए पनि यही हप्ता भित्रिने मनसुनको धेर⁄थोर प्रभाव भने त्यो बेला प्रस्टरूपमा महसुस गर्न सकिने अर्का मौसमविद् समीर श्रेष्ठले बताउनुभयो।

मौसमविद् शान्ति कँडेल निर्वाचनको बेला मनसुनको प्रभाव के–कस्तो रहन्छ भनेर अहिले नै आँकलन गर्न नसकिने बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्