देउवाको सत्तारोहण भोलि



बीपी साह, काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी ओलीको आग्रहमा प्रधानमन्त्रीको निर्वाचन दुई दिनका लागि सरेको छ। व्यवस्थापिका संसद्को आइतबारको बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने निश्चित रहेकोमा एमालेले दुई दिनका लागि बैठक सार्न आग्रह गरेपछि मंगलबारसम्मका लागि प्रधानमन्त्रीको निर्वाचन सरेको हो।

आइतबार व्यवस्थापिका संसद् भवन नयाँ बानेश्वरमा सभामुखसहित प्रमुख दलहरूको बैठकमा एमाले अध्यक्ष ओलीले सहमतिका लागि दुई दिन आवश्यक रहेको बताउँदै हतार नगर्न देउवालाई आग्रह गर्नुभएको थियो। ओलीले दुई दिनको समय मागेलगत्तै देउवाले स्वीकार गर्नुभएको थियो।

बैठकपछि देउवाले भन्नुभयो– ‘ओलीजीले दुई दिनका लागि समय माग्नुभयो। हामीले दियौं। मंगलबार म प्रधानमन्त्री हुन्छु। त्यसमा कुनै विवाद छैन।’

तर, कतिपय एमाले नेताहरूले प्रधानमन्त्री निर्वाचनको प्रक्रिया संसद्बाटै हुनुपर्ने भन्दै उम्मेदवारीदेखि सम्पूर्ण प्रक्रिया शुरू गर्नुपर्ने माग गर्नुभएको थियो। एमालेका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले निर्वाचनबारे संसद्लाई जानकारी नभएको तर्क गर्दै पूरै प्रक्रिया शुरूदेखि नै थाल्नुपर्ने बताउनुभएको थियो। संसद् सचिवालयले भने आइतबारको कार्यसूची मात्र मंगलबारका लागि सार्ने तयारी गरेको छ।

आइतबार बिहान ११ बजेका लागि बोलाइएको संसद् बैठक ३ बजेका लागि सरेको थियो। प्रमुख दलहरूबीच सहमतिका लागि मंगलबारसम्मका लागि बैठक सारिएको छ। एमालेले भरतपुर महानगरपालिकाको मतगणना विवादका कारण संसद् अवरुद्ध गर्दैै आएको छ। सहमतिका लागि सोमबार दिउँसो ५ बजे प्रमुख दलको बैठक बोलाइएको छ।

कांग्रेस सभापति देउवालाई माओवादी केन्द्रसहित केही साना दलले समर्थन गरिसकेका छन्। आइतबार राष्ट्रिय प्रजातन्त्र पार्टीले पनि देउवालाई समर्थन गरेको छ। त्यस्तै, संघीय समाजवादी फोरम नेपालले पनि देउवालाई समर्थन गरेको छ। दुवै पार्टीले संसदीय दलको बैठकबाट समर्थन गर्ने निर्णय गरेका हुन्।

फोरम नेपालले भने समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताएको छ। नेपाल समाचारपत्रसँग कुराकानी गर्दै फोरम अध्यक्ष उपेन्द्र यादवले आफूहरूले देउवालाई समर्थन गरे पनि सरकारमा सहभागी नहुने बताउनुभयो। यादवले आफूहरूको माग पूरा नहुन्जेलसम्म सरकारमा सहभागी नहुने बताउनुभयो।

यता राष्ट्रिय जनता पार्टी नेपालले पनि देउवालाई समर्थन गर्ने तयारी गरेको छ। संविधान संशोधनको विश्वास दिलाएको खण्डमा राजपाले पनि देउवालाई समर्थन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्