“नामै नभए कसरी नेता छान्ने”



कृष्णउदास खनाल,वीरगन्ज ।

जेठ ३१ को पर्खामा रहेका पर्साका नागरिकहरु अब असार १४ को ब्यग्र प्रतीक्षामा रहेका छन्। सरकारले दोश्रो चरणको स्थानीय तहको मिति असार १४ गते तय गरेपछि त्यो दिनको प्रतीक्षामा पर्साका नागरिक बसेका छन् । तर चुनावको दिन नजिकिदै गर्दा आफ्नो नाम मतादाता नामावलीमा समावेश नभएकोमा भने स्थानीयहरु चिन्तित भएका छन् ।

स्थानीय तहको दोस्रो चरणमा हुने निर्वाचनमा पर्सा जिल्लाका १५ सयभन्दा बढी मतदाता अनाहक मतदान दिनबाट वञ्चित हुने भएको तथ्याङक भएको छ ।

जिल्ला प्रशासन कार्यालय, पर्सामा निर्वाचन कार्यालयले सञ्चालन गरेको फोटोसहितको मतदाता नामावलीका लागि फोटो खिचाएका १५०० जनाको तथ्याङ्क हराएपछि उनीहरू मतदान गर्नबाट वञ्चित हुने देखिएका हुन् । २०७० साल माघदेखि चैतसम्मको फोटोसहितको मतदाता नामावलीको तथ्याङ्क हराएको जिल्ला निर्वाचन कार्यालय, पर्साले जनाएको छ ।

यसबारे केन्द्रीय निर्वाचन कार्यालयमा जानकारी गराउने काम पनि भइसकेको छ । घटनाबारे स्वतन्त्र मानव अधिकार समाज पर्साले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई अवगत गराएको अध्यक्ष कृष्णकुमार खनालले बताए । उनले मतदाताहरूले समाजमा आएर गुनासो गरेपछि यसबारे सोधखोज गरेको र सम्बन्धित निकायमा पत्राचार गरिएको बताएका छन् ।

मधेशवादाी निकट पत्रकार सन्तोष पटेलले आइतबार आफ्नो सामाजिक संजालमा यस बारेमा आफ्ना धारणा राख्दै निर्वाचन कार्यालय पर्साका कर्मचारी निर्मल ताम्राकारका कारण यस्तो भएको आरोप लगाएका छन् ।

मतदान गर्ने दिन नजिकिदै गर्दा ठूलो संख्यामा मतदाताहरुको नाम नियोजित रुपमा गायब बनाइएको भन्दै पटेलले आपत्ति जनाएका छन् । उनले तत्काल गलत गर्ने निर्वाचन अधिकारीलाई कारवाही गर्नुपर्ने र नामा छुटेका मतदाताहरुको नामावली समावेश गरिनुपर्ने बताएका छन् ।

उनले भने:नामै नभए कसरी जनताले आफ्ना नोता छान्ने ?

प्रतिक्रिया दिनुहोस्