मध्यपुर थिमि–४ मा मिश्रित परिणाम



भक्तपुर, ५ जेठ । भक्तपुरको मध्यपुर थिमि नगरपालिका–४ को परिणाम मिश्रित आएको छ । मतगणनाको अन्तिम नतिजाअनुसार मध्यपुर थिमि नगरपालिका–४ को वडाध्यक्षमा नेपाली काँग्रेसका कुमार श्रेष्ठ विजयी हुनुभएको छ भने सदस्यहरुमा भने नेकपा (एमाले)का उम्मेदवार विजयी हुनुभएको छ ।

वडाध्यक्षमा काँग्रेसका कुमार श्रेष्ठले एक हजार ६०३ मत प्राप्त गरेर विजय हासिल गर्नुभएको हो भने उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले)का बालकृष्ण पाते श्रेष्ठले एक हजार ३८५ मत प्राप्त गर्नुभयो । सदस्यहरुमा नेकपा (एमाले)का रामकेशरी श्रेष्ठ, उमेश श्रेष्ठ र सुन्दरलाल श्रेष्ठ विजयी हुनुभयो ।

यसैबीच, मध्यपुर थिमिको नौमध्ये चार वडाको मतगणना सकिँदा प्रमुखमा नेकपा (एमाले)ले अग्रता हासिल गरेको छ । यसअघि नेकाका उम्मेदवार अष्ट कवेँले अग्रता लिइरहेकामा वडा नं ४ को मतगणना सकिँदा नेकपा (एमाले)का मदनसुन्दर श्रेष्ठले अग्रता कायम गर्नुभएको छ । पछिल्लो मतपरिणामअनुसार एमालेका मदनसुन्दर श्रेष्ठले ६ हजार २७३ मत प्राप्त गर्नुभएको छ भने काँग्रेसका कवेँले चार हजार ९७५ मत प्राप्त गर्नुभएको छ ।

त्यसैगरी, उपप्रमुखमा भने काँग्रेसका अञ्जना मधिकर्मीले अग्रता कायम राख्नुभएको छ । उहाँले पाँच हजार ४०७ मत प्राप्त गर्नुभएको छ भने नेपाल मजदुर किसान पार्टीका केदार खड्काले तीन हजार ४३५ मतले मधिकर्मीलाई पछ्याइरहनुभएको छ । रासस

प्रतिक्रिया दिनुहोस्