लेखकहरूले मेहनत गर्नुपर्यो



नेपाल समाचारपत्र दैनिकको म नियमित पाठक हुँ। पहिलाको भन्दा केही सुधार भएपनि कतिपय लेख भने झारा टार्ने खालका मात्रै हुने गरेको पाएको छु । ती पढ्दाखेरि झर्को लागेर आउँछ। कहिलेकाहीँ त आधा पढ्दानपढ्दै निदाइन्छ।

त्यसैले कमसल लेखहरूलाई बरु रद्दीको टोकरीमा हालिदिनुहोला। लेखकहरूलाई पनि अलि मेहनेत गरेर मात्रै पठाउनुस् नत्र छापिँदैन भन्नुहोला। लेखकको पद र अनुहारभन्दा पनि लेखको गुणस्तरलाई ध्यान दिनुहुन अनुरोध गर्दछु। लेखले समसामयिक विषयमा विश्लेषण गरे अत्युत्तम हुने थियो।
– उमेश श्रेष्ठ
कालीमाटी, काठमाडौं

मलाई चित्त बुझेन
म ३५ वर्षअघिदेखि निरन्तररूपमा नेपालको कम्युनिस्ट आन्दोलनमा रहेको छु। २०३८ सालमा तत्कालीन नेकपा मालेको योङ लिग हुँदै अनेरास्ववियु पाटन संयुक्त क्याम्पस प्रारम्भिक कमिटी उपाध्यक्ष, २०४३ सालमा जनपक्षीय नगर सभासदमा निर्वाचित हुनुका साथै २०४९ र २०५४ सालको स्थानीय निकाय निर्वाचनमा ललितपुर उपमहानगरपालिका वडा नं. १८ को वडा अध्यक्षमा नेकपा (एमाले) को तर्फबाट निर्वाचित भएको थिएँ।

पार्टी संगठनको जिम्मेवारीअन्तर्गत नगर कमिटी सदस्य, इलाका नं. १३ को सचिव हुँदै ललितपुर जिल्ला कमिटी सदस्यसम्मको सांगठनिक जिम्मेवारीमा क्रियाशील रही हाल सल्लाहकारका रूपमा रहेको स्मरण गराउन चाहन्छु। आसन्न स्थानीय तहको निर्वाचनअन्तर्गत ललितपुर महानगरपालिकाको प्रमुख पदमा आफू पनि योग्य, दक्ष र सक्षम नेतृत्व लिन सक्ने भएकोले दाबेदारी पेस गरेअनुसारमहानगर संगठन कमिटी र ललितपुर जिल्ला कमिटीबाट तथा ललितपुर जिल्ला कमिटी सचिवालयबाट नाम सिफारिस भइसकेको अवस्था हुँदाहुँदै पनि कुनै छलफलसम्म नगरी, लोकतान्त्रिक विधि र प्रक्रिया नअपनाई, तीनै जनाको नाम प्रमुख पदमा पठाउन सक्ने निर्देशनसमेतलाई ध्यान नदिई, निरंकुश प्रवृत्ति अपनाई जबर्जस्ती लाद्ने काम ललितपुर जिल्ला निर्वाचन सहजीकरण कमिटीबाट भएको छ।

यसै अनुसार ललितपुर महानगरपालिकाको प्रमुख पदमा एकजनाको मात्रै नाम प्रस्ताव गरिएको पाइएको छ। ललितपुर जिल्ला कमिटी सचिवालय बैठकबाट प्रमुख र उपप्रमुखका आकांक्षी सबैको नाम सिफारिस गरी पठाउने निर्णय भएकोमा सो निर्णय विपरीत एकजनाको मात्रै नाम उल्लेख गरी, सर्वसम्मत पारित भएको भन्ने भाषा प्रयोग गरी, बाँकी आकांक्षीहरूको नाम मात्र उल्लेख गरी पठाइएको र उपप्रमुखमा ४ जनाको नाम भन्ने उल्लेख गरी पठाइएको भन्ने बुिझन आएको छ। यही कुरा सत्य हो भने विधिसम्मतरूपमा नाम नपठाइएकोमा मेरो गम्भीर असहमति रहने जनाउँदै मूल्य र मान्यताको राजनीतिक संस्कारको धज्जी उडाइएकोमा खेद व्यक्त गर्दछु। पार्टीको निर्देशनअनुसार पार्टी स्थायी कमिटीबाट सिफारिस तथा निर्णयको अपेक्षा गर्दै कमरेड अध्यक्षसहित सम्पूर्ण कमरेडहरूमा हार्दिक अभिवादनका साथ यसै पत्रमार्फत ध्यानाकर्षण गराउन चाहन्छु।

– ज्ञानेन्द्र शाक्य
ललितपुर

अधिकारीको शालिक किन अलपत्र ?

लोकतन्त्र आएको ११ वर्ष पुग्दा पनि लोकतन्त्र ल्याउन ज्यानको आहुति दिने शहीदको शालिक अलपत्र पर्नु भनेको यो देशमा लाजमर्दो कुरा हो। दोस्रो जनआन्दोलन ०६२⁄०६३ मा नेपालगन्जमा भएको आन्दोलनकै क्रममा शहीद भएका हरि अधिकारीको शालिक अलपत्र परेको खबर मिडियामा आइरहेको छ। तर यो विषयमा सम्बन्धित निकाय मौन छ। शालिक अनावरण गर्ने स्थानको अभावले७ वर्षदेखि अलपत्र परेको खबर आइरहँदा पनि सम्बन्धित निकायले केही गरेको छैन।

आन्दोलनमा सहभागी हुँदा नेपालगन्जको महेन्द्र बहुमुखी क्याम्पसका प्राध्यापक अधिकारीको निधन भएको थियो। अधिकारीको अर्धकदको शालिक अनावरण गर्नको लागि स्थान अभावको कारण उक्त शालिक ७ वर्षदेखि महेन्द्र बहुमुखी क्याम्पसको क्याम्पस प्रमुखको कार्यालयभित्रको गोदामघरमा थन्किनु भनेको शहीदको अपमान हो। शहीद परिवारले आफ्नै खर्चमा काठमाडौंबाट ८० हजार खर्च गरेर अर्धकदको पत्थरको शालिक बनाउन लगाएको थियो। उक्त शालिक अनावरणका विषयमा कसले सोच्ने हो ?
– श्रीराम घले
धम्बोजी चोक, नेपालगन्ज

सडक मर्मतमा ध्यान जाओस्

लगनखेल–गोदावरी रुटमा पर्ने हरिसिद्धिबीचको बस्ती भएर हजारौं सवारीसाधन ओहोरदोहोर गर्ने मूल सडक नयाँ पिच गरेको करिब ३ महिना पनि नपुग्दै भत्कियो। हुन त पिच भए पनि यो सडक नराम्ररी बिग्रिएको ३ वर्ष नाघ्न लागिसकेको छ। यहाँको बाटो बिग्रिनुको मूल कारण ढल निकासको समस्या नै हो। अहिले मलमूत्र मिसिएको ढलको पानी थुनिएर सीधै सडकबाट बग्ने गरेको छ।

खाल्टखुल्टीमा हिलो जमेर सोही हिलो परसम्म पुगी घाम लाग्दा धुलम्य हुने गरेको छ। मालवाहक सवारीसाधन आवतजावत गर्दा बढी जाम हुने, सामान्य अवस्थामा पनि बढी समय लाग्नेजस्ता समस्या पनि उत्तिकै छन्। साइकल, मोटरसाइकल र पैदल यात्रुलाई त यो सडकखण्ड झन् जोखिमपूर्ण नै छ। धुवाँ, धूलो, प्रदूषित ढलको पानीले जनस्वास्थ्यमा पार्ने असरको कुनै लेखाजोखा नै छैन। कुलो खनेर तथा ह्युम पाइप राखेर कतै–कतै पानी कटाउने प्रयास त गरियो तर त्यो कार्य एक–दुई दिनभन्दा बढी टिक्न सकेको देखिँदैन।

हाल हरिसिद्धि गाविस ललितपुर महानगरपालिकामा गाभिएको हुँदा यो समस्या समाधान गर्न महानगरले पनि पहल गर्नुपर्ने हो। महानगर भनेको केवल कागजमा मात्र सीमित हुने, सेवा केही दिन नसक्ने र जनताबाट कर मात्र उठाउने संस्थाजस्तो देखियो। सडक विभागले बढी समस्या समाधानमा तदारुकता देखाउनुपर्ने हो, तर सो विभाग नै बेखबर बनेको छ। सडकको सामान्य हेरचाह गर्ने, खाल्टाखुल्टीमा ग्राभेल भर्ने, झारपात उखेल्ने कार्य सडक विभाग लेखिएको ज्याकेट लगाएका कर्मचारीहरूले बेलाबखत गरेको देखिन्छ। तर पानी निकासका लागि उनीहरूले समेत केही गरेको पाइँदैन। हालका लागि सडकको दाँया–बाँया कुलो खनेर ढलको पानी मात्र सडकमा नआउने व्यवस्था गर्न सके पनि स्थानीयले राहतको महसुस गर्ने थिए।

यस्तै समस्या बाडेगाउँतर्फ पनि छ। गोदावरी नगरपालिका–३ स्थित टौखेल बस स्टपबाट करिब २ सय मिटर बाडेगाउँतर्फ बीचसडकमा खानेपानीको पाइप फुटेर सडकमा ठूला खाडल परेका छन्। त्यहाँ ठूलै पानी निस्केर सडक नाजुक अवस्थामा पुगेको छ। त्यति राम्रो चौडा सडक, पीच गरेको पनि धेरै भएको छैन, तर पानी सडकै सडक बगेर खाल्डाहरू बनेका छन्। खानेपानी उपभोक्ता समितिमा पटक–पटक मर्मत गर्न ताकेता गर्दा सुनेको नसुन्यै गरेका छन्। के समितिले खानेपानी उपभोग गरेबापत उपभोक्ताबाट रकम मात्र असुल्ने, समस्यालाई बेवास्ता गर्ने, एकपटक निर्माण गरेपछि फर्केर नहेर्ने नै हो त ?

समितिमा अहिले

भएका प्लम्बरबाट गर्न नसकिने कुनै यो ठूलो समस्या पनि होइन।
ठूला योजना र नयाँ सिर्जना गर्न नसके पनि भएका संरचनाको संरक्षण, संवद्र्धन र जगेर्ना गर्नु हाम्रो दायित्व हो कि होइन ? यस्ता समस्या समाधान गर्न हामीले पनि आफ्नो तबरबाट सकेको योगदान गर्नुपर्छ। खासगरी यस विषयमा सम्बन्धित निकाय तथा सरोकारवालाको ध्यान जानुपर्दछ।
– महेश नेपाल, गोदावरी, ललितपुर

प्रतिक्रिया दिनुहोस्