निर्वाचनमा पुरुषभन्दा महिला सक्रिय बन्दै



रामपुर (पाल्पा), ३ वैशाख । स्थानीय तहको निर्वाचनको सरगर्मीले पाल्पामा पुरुषभन्दा महिला चुनावी प्रचारात्मक कार्यमा व्यस्त छन् । यसपटकको चुनावमा निर्वाचन आयोगले महिला आरक्षण कोटा छुट्याएपछि महिला चुनावी माहोलमा व्यस्त देखिएका छन् ।

सधैँ घरायसी काममा मात्र सीमित रहन बाध्य महिला आरक्षण कोटाले उनीहरु नगर तथा गाउँको नेतृत्व आफ्नो हातमा पार्नका निम्ति रातदिन चुनावी कसरतमा लागेका छन् । गाउँपालिका तथा नगरको टोल, गाउँ बस्ती, वडा वडामा पुगेर कार्यकर्ता भेटघाट तथा घरदैलो कार्यक्रममा महिला निकै उत्साहका साथ लागेका छन् ।

महिला नेतृत्वले महिलाका समस्या, हक अधिकारका कुराहरु सम्बन्धित क्षेत्रमा सम्बोधन हुने आशाले पनि महिलाले यसपटकको निर्वाचनलाई विशेष चासो र महत्वका साथ लिएका छन् ।

रामपुरकी विष्णु घिमिरे आचार्य अहिले नेपाली काँग्रेसबाट रामपुर नगरपालिकाको उपप्रमुख पदमा नेतृत्व गर्ने तयारीका साथ चुनावी प्रचारात्मक अभियानमा टोल, गाउँ, वडा र नगरभित्र जुट्नुभएको छ । उहाँले आफूले उपप्रमुख पदको नेतृत्व गर्न पाएको खण्डमा महिलाका हरेक समस्या सम्बन्धित निकायमा पु¥याउने र महिला उत्थानका लागि विशेष काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँ भन्नुहुन्छ – “पार्टीगत रुपमा नहेरी असल नेतृत्वकर्ता योग्य उम्मेदवार छनोट गरेर मतदान गर्नुुपर्छ”।

नेकपा (एमाले)को तर्फबाट नगरको उपप्रमुख पदमा होमिनुभएकी दुर्गा राना पनि यतिबेला चुनावी प्रचारमा गाउँ गाउँमा पुग्नुभएको छ । महिला सधैँ पछाडि नै छन्, त्यसमा पनि जनजाति, दलित महिलाले कहिल्यै कुनै पनि स्थानमा नेतृत्व गर्ने अवसर नपाउँदा पछाडि परेको उहाँ बताउनुहुन्छ । उहाँले अबको निर्वाचनमा जनजातिको तर्फबाट आफूले नगरको उपप्रमुख पदमा नेतृत्व गर्ने दाबाका साथ चुनावी माहोलमा उत्रिएको बताउनुभयो ।
राष्ट्रिय जनमोर्चा अखिल क्रान्तिकारीको तर्फबाट नगरको उपप्रमुख पदमा कुन्तादेवी गैरे पनि उम्मेदवारी दिने तयारीका साथ प्रचारप्रसारमा लाग्नुभएको छ । उहाँ भन्नुहुन्छ – “पहिला महिलालाई अवसर र परिवारबाट सहयोग नहँुदा महिला सधँै पछाडि नै रहिरहे”, “नगरको नेतृत्व गर्न श्रीमान् र परिवारबाट राम्रो सहयोग मिलेकाले उम्मेदवारी दिने तयारीमा छु” – उहाँले भन्नुभयो ।

जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकामा यतिबेला पुरुषभन्दा महिला नेतृत्वकर्ताको चुनावी चहलपहल बढ्दो देखिन्छ । नगरपालिका, गाउँपालिकाका वडा वडामा उम्मेदवारको नाम दर्ता गराउने कार्यमा पनि महिलाको सङ्ख्या नै उल्लेख्य रहेको छ । रासस

प्रतिक्रिया दिनुहोस्