काठमाडौँ।
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको रोमाञ्च देशका विभिन्न सहरमा पनि अनुभव गर्न पाइने भएको छ। एक्सट्रीम इनर्जी ड्रिङ्कले क्रिकेटप्रेमीलाई आफ्नै सहरमा बसेर प्रतियोगिताका खेल हेर्ने र मनोरञ्जन लिन सक्ने अवसर प्रदान गर्ने उद्देश्यले देशभरका ९ सहरका १० स्थानमा फ्यान जोन सञ्चालन गर्ने भएको हो।
कात्तिक ९ गतेदेखि मंसिर ५ गतेसम्म आयोजना हुने एनपीएलका खेल फ्यान जोनमा राखिने ठूला एलईडी स्क्रिनमार्फत प्रत्यक्ष प्रसारण गरिनेछन्। आयोजकका अनुसार फ्यान जोनमा प्रवेश पूर्ण रूपमा निःशुल्क हुनेछ। यसबाट क्रिकेटप्रेमीले साथीभाइसँगै बसेर खेलको आनन्द लिन, मनपर्ने टोलीलाई समर्थन गर्न र प्रतियोगिताको उत्साह सामूहिक रूपमा साटासाट गर्न सक्नेछन्।
एक्सट्रीमले काठमाडौँ उपत्यकासहित देशका विभिन्न सहरमा फ्यान जोनको व्यवस्था गरेको छ। काठमाडौँको सिफल मैदान, कीर्तिपुरको माइक्रो पार्क र त्रिभुवन विश्वविद्यालय (टीयू) क्रिकेट मैदानको दोस्रो गेटअगाडिको मैदानमा क्रिकेटप्रेमीले ठूलो स्क्रिनमा खेल हेर्न सक्नेछन्।
उपत्यकाबाहिर धनगढीस्थित कभर्ड हल क्षेत्र, सुर्खेतको घण्टाघर डबली, बुटवलको सिद्धेश्वरी ग्राउन्ड, पोखराको मालेपाटन चौर र चितवनको वीरेन्द्र बहुमुखी क्याम्पसको डिग्री कलेज परिसरमा पनि फ्यान जोन सञ्चालन हुनेछन्। त्यस्तै, जनकपुरको बाह्रबिघा चौर र विराटनगरको पुरानो गुद्री मैदानमा समेत क्रिकेटप्रेमीले एनपीएलका खेलको प्रत्यक्ष प्रसारण हेर्न सक्नेछन्।
फ्यान जोनलाई खेल हेर्ने स्थानमा मात्र सीमित नराखी मनोरञ्जन र सामूहिक उत्सवको केन्द्र बनाउने एक्सट्रीमको तयारी छ। यहाँ खेलको प्रत्यक्ष प्रसारणसँगै साङ्गीतिक प्रस्तुति तथा विभिन्न मनोरञ्जनात्मक गतिविधि आयोजना गरिनेछन्। दर्शकले मनोरञ्जनात्मक खेलकुद गतिविधिमा सहभागी हुनुका साथै गिभअवे कार्यक्रममार्फत आकर्षक उपहार प्राप्त गर्ने अवसरसमेत पाउनेछन्।
एनपीएलप्रतिको बढ्दो उत्साहलाई क्रिकेट मैदानभन्दा बाहिरसम्म विस्तार गर्दै देशका विभिन्न सहरका समर्थकलाई एउटै माहोलमा जोड्ने उद्देश्यले एक्सट्रीमले यो पहल अघि बढाएको हो। रंगशालामै पुगेर खेल हेर्न नसक्ने क्रिकेटप्रेमीले पनि आफ्नै सहरमा ठूलो स्क्रिनअगाडि भेला भएर प्रतियोगिताको रोमाञ्च अनुभव गर्न सक्नेछन्।
मैदानमा खेलाडीबीच प्रतिस्पर्धा चलिरहँदा फ्यान जोनमा समर्थकको हुटिङ, उत्साह र सामूहिक खुसीले एनपीएलको रौनक थप्ने अपेक्षा गरिएको छ। क्रिकेट, सङ्गीत र मनोरञ्जनलाई एकै ठाउँमा जोड्ने एक्सट्रीमका यी फ्यान जोन प्रतियोगिता अवधिभर क्रिकेटप्रेमीका लागि आकर्षक जमघटस्थल बन्ने विश्वास गरिएको छ।











प्रतिक्रिया