दक्षिण एसियाका राष्ट्रबीच सम्बन्ध सुमधुर बनाउन राष्ट्रपतिको जोड



काठमाडौँ, २२ चैत । राष्ट्रपति विद्यादेवी भण्डारीले दक्षिण एसियाका राष्ट्रबीचको सम्बन्ध बलियो र सुमधुर बनाउन ती देशका सञ्चारमाध्यमले सकारात्मक भूमिका खेल्नुपर्नेमा जोड दिनुभएको छ ।
नेपाल भ्रमणमा रहेका भारतीय पत्रकार र पत्रकारिताका प्राध्यापकको टोलीसँग आज शीतल निवासमा भएको भेटमा राष्ट्रपति भण्डारीले नेपाल र भारतबीच सम्बन्ध मजबुत बनाउन आआफ्नो ठाउँबाट योगदान दिन सबैलाई आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, “मैले अन्तरआत्माबाट भन्दैछु, सके नेपाल र भारतबीचको सम्बन्ध सुदृढ गर्नका लागि योगदान दिनुहोस्, सक्नुहुन्न भने अहिलेको सुमधुर सम्बन्ध बचाएर भावी पुस्तालाई हस्तान्तरण गर्न सहयोग गर्नुहोस् ।”

नेपाल र भारतबीचको सम्बन्ध प्राचीन, प्रगाढ र गौरवशाली रहेको भन्दै यसको बहुआयामिक सम्बन्धलाई सामान्य परिभाषाले समेट्न नसक्ने राष्ट्रपतिको भनाइ थियो । उहाँले भन्नुभयो, “भाषा, धर्म, साहित्य, वेशभूषा सबैमा दुई देशबीच समानता रहेको छ । हामीले मनाउने विक्रम सम्वत् नै भारतको पश्चिम बङ्गाल, पञ्जाब, महाराष्ट्र, गुजरातलगायतमा पनि मनाइँदो रहेछ ।”

पश्चिमा दर्शनभन्दा पूर्वीय दर्शन धेरै पुरानो र विशिष्ट रहेकाले त्यसको थप अध्ययन, अनुसन्धान र प्रचारप्रसार गर्नु आवश्यक रहेकोमा उहाँले जोड दिनुभयो । धार्मिक ग्रन्थमा रहेको तत्कालीन समयको ‘नारद’को भूमिका हालको पत्रकारको भूमिकासँग तुलना गर्न सकिने राष्ट्रपतिले बताउनुभयो ।

भारतको मखनलाल चतुर्वेदी पत्रकारिता तथा आमसञ्चार राष्ट्रिय विश्वविद्यालयले यहाँ आयोजना गरेको ‘नेपाल–भारत सम्बन्ध प्रवद्र्धनमा मिडियाको भूमिका’ विषयक दुईदिने सम्मेलनमा भाग लिन सो टोली नेपाल आएको हो । रासस

प्रतिक्रिया दिनुहोस्