कर छली प्रकरणमा जवाफ दिन प्रम राजी



नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एनसेलको कर छली प्रकरणमा लेखा समितिसमक्ष जवाफ दिनुहुनेभएको छ। सरकारले एनसेल प्रकरणमा छुट दिन खोजेको भन्दै लेखाले प्रधानमन्त्रीलाई बयानका लागि बोलाएको हो।

एनसेल प्रकरणका विषयमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिमा बारम्बार छलफल हुँदै आएको छ। समितिले यस प्रकरणमा प्रधानमन्त्री पनि मुछिएकोले सोधपुछका लागि बोलाउने निर्णय गरेको थियो। सोहीअनुसार प्रधानमन्त्री प्रचण्डले चैत २७ गते आइतबार सार्वजनिक लेखा समितिमा जवाफ दिनुहुनेछ।

लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘एनसेल प्रकरणमा प्रधानमन्त्रीले जवाफ दिने निश्चित भयो। उहाँले २७ गतेको बैठकमा आउने बताउनुभयो।’

सभापति उपाध्यायका अनुसार सोमबार दिउँसो ५ बजे भएको छलफलमा प्रधानमन्त्रीले लेखा समितिको बैठकमा सहभागी हुने टुंगो लगाउनुभएको हो।
उहाँका अनुसार प्रधानमन्त्री २७ गते दिउँसो ११ बजे समितिको बैठकमा जवाफ दिन जानुहुनेछ। प्रधानमन्त्रीले यसअघि पनि लेखा समितिमा जवाफ दिने बताए पनि समय मिलाउन सक्नुभएको थिएन।

प्रतिक्रिया दिनुहोस्