पहिरो खस्दा २ को मृत्यु

0
Shares

सन्तोष अधिकारी, चितवन
सोमबार मुग्लीन–नारायणगढ सडक खण्डको घुमाउनेमा ढिस्को खस्दा पुरिएर दुई जनाको ज्यान गएको छ। बिहान ११ बजे पहिरो खस्दा पाँच सवारी पुरिएका थिए भने दुई जनाको ज्यान गएको छ। मृत्यु हुनेमा ना४ख ५४१९ नम्बरको तेलको टइङ्कर सहचालक भारतका विनयकुमार रहेको घटनास्थलमा रहेका प्रहरी निरिक्षक योगेन्द्र हमालले बताए। करिब ४० मिटर लामो र १० मिटर अग्लो ढिस्को खसेर सवारी साधनहरू पुरेको हो।

टइङ्करका सहचालक पनि घाइते भएको प्रहरीले जनाएको छ। त्यस्तै नारायणगढतर्फ नै जाँदै गरेको ग१०प ४८४४ नम्बरको मोटरसाइकल चालक सल्यान घर भएका ४५ वर्षीय रेशराज राना रहेको प्रहरी निरीक्षक हमालले बताए। मोटरसाइकलमै सवार रानाका छोरा मन्दिप घाइते छन्।

सोही पहिरो झर्दा रा१ख ७७९ नम्बरको मिनीट्रक, बा१६च ३९०७ नम्बरको कार, ना६ख ६६६४ नम्बरको ट्रकमा पनि क्षति पुगेको चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जानकारी दिए। ‘यहाँ बाटो निर्माणको काम निरन्तर भइरहेको छ। त्यसैले जमिन थर्किएको छ’, प्रजिअ भट्टले भने– ‘कहाँ कतिबेला पहिरो झर्न सक्छ थाहै हुन्न। चट्टानहरू सबै चिरिएका छन्।’ बिहान ११ बजेदेखि बन्द भएको बाटो सफा गरेर दिउँसो ४ बजे सकिए पनि पुनः झर्ने सम्भावना रहेको ढिस्को फाल्न थप एक घण्टा लागेको थियो। पहिरो हटाइए पनि जोखिम भने कायमै रहेको चितवन प्रहरीले जनाएको छ।