बालुवामा बदमासी

0
Shares

नानिराम नेपाल, सिन्धुपाल्चोक
इन्द्रावती नदीको दोलालघाटबाट मेलम्चीसम्म, सुनकोशी नदीको चेहेरेबाट नेपालथोकसम्म बालुवाको जति थुप्रो देखिन्छ, त्यो बालुवाबाट हुने कारोबारलाई एकैठाउँमा राख्ने हो त्यति नै थुप्रो पैसाको हिसाब निस्कन्छ। प्रकृतिले सित्तैंमा दिएको उपहारलाई उपभोक्ताको घरसम्म आइपुग्दा ठाउँ हेरेर एक टिपको ३० हजार रुपियाँसम्म तिर्नुपर्छ।

प्रतिदिन ५ सय टिपभन्दा बढी बालुवा उत्खनन हुने यी ठाउँमा ९० प्रतिशत अवैध तरिकाले उत्खनन भइरहेको छ। स्थानीय प्रहरी प्रशासनका लागि यो बालुवाको थुप्रो राम्रो आम्दानीको स्रोत बनेको छ। नदी किनारामा मजदुरहरूले आफैले बालुवा निकालेका छन् भने ८ देखि १० हजार रुपियाँ प्रतिटिप रकम लिन्छन्। स्थानीय गुण्डा वा प्रहरी प्रशासनले दुःख दिए भने थप ३ हजार रुपियाँ उनीहरूका लागि भन्दै प्रतिटिप असुलिन्छ। खोला किनारामा क्रसर उद्योग राख्नेहरूले भने प्रतिटिप १२ देखि १४ हजार रुपियाँ लिन्छन्। मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालन तथा उत्खनन गरेबापत उनीहरूले प्रहरी प्रशासनलाई हप्तावारीरूपमा नियमित हजारौं रकम बुझाइरहेका हुन्छन्।

सिन्धुपाल्चोकको सागाँचोक–५ हाल गडी नगरपालिका ११ मा केशवराज गिरी, सुदर्शन गिरीलगायतले क्रसर उद्योग सञ्चालन गरेका छन्। प्रशासनसंगको मिलेमतोमा नदीको वहावनै परिवर्तन गरी स्थानीय हरिबहादुर माझी, मानबहादुर माझीलगायतको जग्गामा असर पुग्ने गरी बालुवा निकालिएको छ। सिन्धुपाल्चोक र काभ्रेको सिमानामा रहेको यो नदीबाट यसरी बालुवा निकाल्दा स्थानीयले विरोध गरे पनि प्रहरीले सुनेको नसुनै गर्छ। उजुरी लिएर गएका स्थानीय बासिन्दालाई त्यहाँका प्रहरीले माथिको आदेश भन्दै प्राकृतिक स्रोतको जसरी दोहन गरे पनि आँखा चिम्लिदिने गरेका छन् । नेपाल समाचारपत्र प्रतिनिधि त्यहाँ पुग्दा नदीको आधा भाग थुनेर पानी काभ्रेको किनारापट्टि पठाएको प्रष्ट देखिन्थ्यो। बालुवा निकालेको नदीमा खाल्टो परेको ठाउँमा ५० फिटभन्दा बढी गहिरो बनाइएको देखिन्थ्यो। बालुवा खोतल्ने मेसिन पूरै डुबेको देखिन्थ्यो।

जिल्ला प्रहरी प्रमुखको आदेश भन्दै दोलालघाट र बनदेउ प्रहरी चौकीका प्रहरीहरू खोलामै बसेर नदी गहिराउँदै बालुवा निकालिरहेको दृश्य सधैंजसो देखिन्छ। अवैध तरकाले खानी सञ्चालन गरिरहेका ठेकेदारहरूले ४⁄५ वटा मेसिन लगाएर १५ दिनमात्र बालुवा निकाल्दा पनि १ करोड रूपियाँभन्दा बढी कमाउँछन्। दैनिक लाखौं आम्दानी हुने भएपछि ठेकेदारहरूले सेटिङ मिलाउन प्रहरीले मागेअनुसार पैसा दिने गरेका छन्। बालुवा उत्खनन् गरिरहँदा दिउँसो केही प्रहरी खोलामै बसेर हिसाबकिताब गरिरहेका देखिन्थे भने साँझ परेपछि होटलमा मदिरा सेवन गरी रमाइरहेका हुन्थे। स्थानीयवासीहरूले प्रहरीले सरकारी पोशाकमै मदिरा सेवन गरेर हल्ला गरिरहेको फोटो र संवाद रेकर्डसमेत गरेका थिए। साँगाचोकमा रहेको क्रसर उद्योगले खोलामा बालुवा निकाल्ने मजदुरहरूसंग प्रतिखेप ३ सय रूपियाँका दरले उठाउने गरेको पनि स्थानीयले बताएका छन्। दैनिक १ सय खेप बालुवा बिक्री हुँदा प्रहरी प्रशासनलाई भनेर उठाइएको त्यो रकम प्रतिदिन ३० हजार रूपियाँसम्म हुन्छ।

प्राकृतिक स्रोतमाथि दोहन गर्दै दैनिक कमाइ हुने लाखौ रूपियाँ
स्थानीयस्तरदेखि प्रहरी प्रशासनको माथिल्लो निकायसम्म भागबण्डा हुने स्थानीयबासिन्दाहरू बताउँछन्। स्थानीय श्याम दनुवारले नेपाल समाचारपत्रलाई जानकारी दिएअनुसार प्रहरीको प्रत्येक पोस्टमा प्रतिट्रिपर १ हजारका दरले रकम बुझाउनुपर्छ भने चौकीहरूले हप्तावारी रूपमा रकम असुल्छन्। साथै प्रहरीका माथिल्ला अधिकारीहरूलाई सेटिङ मिलाउन भन्दै विचौलियाहरूले हप्ताको लाखौं रूपियाँ लैजान्छन्। अनुगमन गर्ने बेलामा भने क्रसर व्यवसायीहरूले मोटो रकम खर्च गर्ने गरेको तिनले बताए।

‘मेसिन लगाएर दुई दिन अवैध बालुवा उत्खनन् गर्दा प्रशासनले आँखा चिम्लिदिए दसौं लाखको बालुवा निस्कन्छ’ पत्रिकामा नाम नछापिदिन आग्रह गर्दै स्थानीय बासिन्दा भन्छन– ‘तपाईंहरूले कम्तिमा पनि ४ दिन यही बसेर सबै बुझ्नुभयो भने बास्तविकता छर्लङ्ग हुन्छ। बालुवा खानीमा यति ब्रम्हलुट छ की प्रहरी प्रशासन, ठेकेदार र स्थानीय गुण्डाहरूले मात्र दैनिक लाखौं रूपियाँ उठाइरहेका छन्।यो सुनकोशी र इन्द्रावतीमा जसरी पानी बगेको छ अवैध बालुवा उत्खनन् गर्ने र क्रसर सञ्चालन गर्नेहरूले त्यसै गरी प्रहरी प्रशासनलाई पैसा खन्याउने गरेका छन्।

सुनकोशी र इन्द्रावती नदीमा चेहेरेदेखि नेपालथोकसम्म र दोलालघाटदेखि मेलम्चीसम्म मात्र १ सयभन्दा बढी ठाउँमा बालुवा निकालिन्छ। दोलालघाटपारि कोशीपारिको पुरानो बजारमा सिजनमा स्थानीय गुण्डाहरूले मात्र एक दिनमा ३ लाख रूपियाँसम्म उठाउने स्थानीय बताउँछन्। प्रतिट्रिपर ३ हजारको दरले उठाएको उक्त रकम प्रहरी चौकीहरूमा पनि भाग लगाउने गरिएको उनीहरूको भनाइ छ। बालुवाखानी सञ्चालन बारे अनुगमन गर्न बेलाबेलामा सरकारी टोली आउने भए पनि उनीहरूले मोटो रकम लिएर अवैध उत्खनन्लाई बैध भन्ने गरेको स्थानियबासीको गुनासो थियो।

Skip This