आचारसंहिता उल्लंघनमा उजुरी आयोगले माग्यो गृहमन्त्रीसँग स्पष्टीकरण



काठमाडौं, (नेस)
निर्वाचन आयोगले उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिसँग हेलिकोप्टर चढेको र शहीदलाई राहत बाँड्न हिँडेको सम्बन्धमा स्पष्टीकरण सोधेको छ।

आयोगको मंगलबार बसेको बैठकले उपप्रधानमन्त्री तथा गृहमन्त्री निधिलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो। सोहीअनुरूप आयोगले पत्रमार्फत गृहमन्त्री निधिलाई स्पष्टीकरण सोधेको छ। आयोगको आचारसंहितामा आयोगसँग सहमति लिएर मात्र हेलिकोप्टर चढ्न पाउने र चुनावी अभियानलाई प्रभावित पार्ने गरी सरकारी स्रोतसाधन प्रयोग गर्न नपाउने प्रावधान रहेको छ।

यसैबीच नेकपा एमालेले पनि गृहमन्त्री निधिले आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगमा उजुरी दिएको छ। सो पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङको नेतृत्वमा टोली मंगलबार आयोगमा पुगेर गृहमन्त्री निधिसहित आचारसंहिता विपरीत कर्मचारी सरुवा, मन्त्रीहरूको हेलिकोप्टर दौडाहा र बजेट रकमान्तर गरेको भन्दै सरकारविरुद्ध पनि उजुरी दिनुभएको हो।

मन्त्रीहरूले निर्वाचन आचारसंहिता उल्लंघन गरिरहेको भन्दै एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराएको बताइएको छ। एमालेले आयोगलाई बुझाएको लिखित ध्यानाकर्षणमा मन्त्रीहरूले आचारसंहिता विपरीत हेलिकोप्टर लिएर हिँडेको तथा गृहमन्त्रीले कांग्रेसका तर्फबाट पैसा बाँडेको विषयलाई आयोगले गम्भीरतापूर्वक लिनुपर्ने माग गरेको छ। त्यस्तै बजेटका कतिपय शीर्षकबाट बजेटमै नभएको, संसद्ले पास नै नगरेका योजनामा अर्बौं रुपियाँ रकमान्तर भइरहेकामा आयोगको ध्यानाकर्षण गराइएको बताइएको छ।

पुरानो मिति राखेर जिल्ला जिल्लामा चुनाव प्रभावित पार्ने गरी कर्मचारीको सरुवा र प्रहरी अधिकृतहरूको हेरफेर गरिएको एमालेको आरोप रहेको छ। एमालेले बुझाएको ध्यानाकर्षणपत्रमा आयोगका प्रमुख आयुक्तसहितले सबै आयुक्त र सचिवसमेत एमालेको प्रतिनिधिमण्डलसँग छलफलमा गरेका थिए। यस विषयमा छानबिन गरी आवश्यक कदम चाल्ने पनि प्रमुख निर्वाचन आयुक्ता डा. अयोधिप्रसाद यादवले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्