सामुदायिक विद्यालयका शिक्षकको पीडा – कागजमा पुरै पैसा ब्यबहारमा थोरै



नेपाल समाचारपत्र, झापा ।
झापाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षकलाई विद्यालय व्यवस्थापन समिति र प्रअले शिक्षा कार्यालयले निकासा गरे अनुसारको तलबसहितको सेवा सुविधा नदिने गरेको पाइएको छ ।
कक्षा ११ र १२ मा अध्ययापन गराउने दरबन्दीमा रहेका अनुदानका शिक्षकलाई सम्बन्धित विद्यालयले नियुक्त पत्र नदिनुका साथै सेवासुविधा समेत कटौती गरेको भन्दै शिक्षक समूहले मंगलबार जिल्ला शिक्षा कार्यालय झापामा ज्ञापनपत्र बुझाएको छ । नेपाल सामुदायिक उच्च मावि शिक्षक युनियन र उच्च माध्यमिक शिक्षक एसोशिएसन नेपाल (हिस्टान) ले ६ बुदे मागसहितको ज्ञापनपत्र जिल्ला शिक्षा अधिकारी योगेन्द्रप्रसाद बराललाई बुझाएका हुन् ।

शिक्षा कार्यालयबाट निकासा भएको रकम सम्बन्धित शिक्षकले प्राप्त गर्ने व्यवस्था मिलाउनु पर्ने, पूर्णकालीन शिक्षक नियुक्त गरी पूर्ण बिषय उपलब्ध गराउनु पर्ने, सामाजिक सुरक्षा कर र पारिश्रमीक कर स्थानीय लेखा नम्बरमा अभिलेख राख्नु पर्ने, निजी स्रोतमा कार्यरत शिक्षकलाई राज्यको तर्फबाट पूर्णकालिन व्यवस्था मिलाउन पहल गरिदिने, कक्षा ११ र १२ का विद्यार्थीलाई राष्ट्रिय खेलकुदमा सामेल गराउनुका साथै कार्यरत शिक्षकलाई तालिममा सहभागी गराउनु पर्ने लगायतको माग ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।

पीडित बनेका शिक्षकहरुले शिक्षा कार्यालय समक्ष आफनो माग राखिसकेको र माग पूरा नभएको खण्डमा अख्यितारदेखि शिक्षा विभाग सम्म जाने नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षक युनियनका अध्यक्ष भीम पोखरेलले बताए । सम्बन्धित विद्यालय व्यवस्थापन र प्रअले वेवस्ताका कारण उच्च माविका शिक्षकहरु पीडित बन्नु परेको उनकोे भनाई छ ।

यता विद्यालयमा कार्यरत शिक्षकहरुको माग सम्बोधनका लागि पहल गरिने जिल्ला शिक्षा अधिकारी बरालले बताए । नियुत्तपत्र नलिएका र शिक्षा कार्यालयबाट पाउने सेवासुविधा नपाएको गुनासाहरुको बिषयमा माध्यमिक विद्यालयसंग जानकारी लिने उनको भनाई छ । कक्षा ११ र १२ सञ्चालन हुने झापाका ६० वटा माध्यमिक विद्यालय १ सय २० जना शिक्षक अनुदान स्वरुप दरबन्दीमा रहेका छन् ।

जसमा १५ देखि २० जना शिक्षकले मात्र ३५ हजार २ सय २० रुपैया तलब बुझ्छन । अन्य शिक्षकहरुले भौचरमा सही नै नगरी तोकिएको भन्दा कम तलब बुभ्mने र नियुत्तीपत्र समेत नपाएको शिक्षकहरुले गुनासो पोखेका छन् ।

प्रतिक्रिया दिनुहोस्