युनेस्कोको टोली फिर्ता नेपालका सम्पदा खतराको सूचीतर्फ



ईश्वरराज ढकाल, काठमाडौं
युनेस्कोले उपत्यकाको विश्व सम्पदासूचीमा रहेका सम्पदालाई खतराको सूचीमा राख्ने तयारी गरेको छ। तर नेपालले तत्कालै सुधार गर्ने भन्दै खतराको सूचीमा नराख्न आग्रह गरेको छ। गत शनिबार नेपाल आएको रिएक्टिभ मोनिटरिङ मिशनको टोलीले सम्पदा पुनर्निर्माण गर्न सरकारले उदासिनता देखाएको भन्दै खतराको सूचीमा राख्ने तयारी गरेको हो।

मिशनको टोलीले आगामी जुलाई २ तारिखदेखि पोल्यान्डको वार्सामा हुने ४१औं बैठकमा नेपालको काठमाडौं उपत्यकाको कल्चरल साइटलाई खतराको सूचीमा राख्ने जनाउ दिएको छ। तर खतराको सूचीमा राख्ने विषयमा नेपालले आपत्ति जनाउँदै तत्काल सूचीमा नराख्न आग्रह गरेको थियो। फेङको नेतृत्वमा आएको तीन सदस्यीय टोलीले तत्काल काम गरेर देखाउन पनि सुझाएको छ। पुरातत्त्व विभागका महानिर्देशक भेषनारायण दाहालले उपत्कालाई खतराको सूचीमा राख्ने संकेत टोलीले दिएको बताउनुभयो। उहाँले खतराको सूचीमा राख्दा अन्य मुलुकले टेक्निकल र आर्थिक सहयोग गर्ने भएकाले तत्काल समस्या नहुने तर्क राख्नुभयो।

भूकम्प गएलगत्तै जर्मनीको बर्लिनमा सम्पन्न ३९ र गत वर्ष टर्कीको राजधानी इस्तानबुलमा सम्पन्न ४०औं बैठकमा पनि नेपालको काठमाडौं उपत्यकालाई खतराको सूचीमा राख्ने अन्तिम तयारी गरिएको थियो। नेपालबाट सहभागी उच्चस्तरीय टोलीको विशेष आग्रहमा खतरामा राख्ने सम्भावना टरेको थियो। ‘खतराको सूचीमा राख्ने तयारीको विषयमा हामीले टोलीसँग पटकपटक छलफल गरेका थियौं’, विभागका विश्वसम्पदा शाखा प्रमुख डा. सुरेश सुरस श्रेष्ठले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘तर उनीहरूले केही जवाफ दिएनन्।’ उहाँले नेपालमा गरेको अनुगमनको रिपोर्ट युनेस्कोको हेडक्वार्टरमै बुझाउनेछन्। टोलीले विश्वसम्पदा सूचीमा सूचीकृत उपत्यकाका सातवटा क्षेत्रको अनुगमन गरेको थियो। स्वयम्भू, बौद्धनाथ, पशुपतिक्षेत्र, चाँगुनारायण, हनुमानढोका, पाटन र भक्तपुर दरबार क्षेत्रको सम्पदाको अनुगमन गरेको थियो। २०७२ वैशाख १२ र २९ गते गएको शक्तिशाली भूकम्पले सातवटा विश्वसम्पदा क्षेत्रको करिब ९० वटा सम्पदा क्षतिग्रस्त भएका थिए। भूकम्पपछि ती सम्पदा पुनर्निर्माण गर्नमा सरकारले सुस्तता देखाएका कारण युनेस्कोले खतराको सूचीमा राख्न लागेको हो। खतराको सूचीमा युनेस्कोले आर्थिक र भौतिक सहयोग गर्न सक्ने भएकाले सूचीमा राख्दा पनि नेपाललाई समस्या नपर्ने विभागका अधिकारीको तर्क छ।

भूकम्पपछि विभागले स्थानीय निकाय र दातृ निकायको सहयोगमा विश्वसम्पदा सूचीमा सूचीकृत करिब २० वटा सम्पदाको पुनर्निर्माण गरिसकेको दाबी गरेको छ। काठमाडौंमा ३५ वटा सम्पदा ध्वस्त भएका थिए। तीमध्ये चर्चामा रहेको वसन्तपुर दरबार, काष्ठमण्डप, दश अवतारलगायतका सम्पदाको हालसम्म पुनर्निर्माणको काम शुरू गर्न सकेको छैन। बाँकीमध्ये करिब एक दर्जन सम्पदालाई चालु आर्थिक वर्षमै सम्पन्न गर्ने लक्ष्य विभागले लिएको महानिर्देशक दाहालले बताउनुभयो। हाल विश्वभर करिब १ हजार ५५ सम्पदाहरू युनेस्कोको विश्वसम्पदा सूचीमा रहेका छन्। नेपालको काठमाडौं र लुम्बिनी गरी दुई सांस्कृतिक र चितवन र सगरमाथा राष्ट्रिय निकुञ्ज क्षेत्रलाई प्राकृतिक सम्पदाको रूपमा सूचीकृत गरिएको थियो। भूकम्पबाट देशभर ७ सय ३५ वटा सम्पदा क्षतिग्रस्त भएका थिए।

प्रतिक्रिया दिनुहोस्