धूलोबाट कहिले मिल्ला मुक्ति ?



सुरेश तामाङ, काठमाडौं
मेलम्चीको पानी ल्याउन काठमाडौंका मुख्य र सहायक गरी ९० ठाउँमा एक साथ सडक भत्काउँदै पाइप बिछइउने कामलाई तीव्र पारिएको छ।

रिङरोड, शहरका भित्री खण्ड पुग्ने मुख्य सडक र अन्य सहायक सडकमा विभिन्न ११ खण्डमा विभाजन गरेर पाइप बिछइउन सडक भत्काउने काम भइरहेको आयोजना कार्यान्वयन निर्देशनालयअन्तर्गतको मेलम्ची खानेपानी उपआयोजना–२ ले जनाएको छ।

उपआयोजना–२ अन्तर्गतको सडक भत्काउँदै पाइप बिछइउने काम गएको छठ पर्वपछि तीव्र गतिमा भइरहेको छ। वितरण लाइनअन्तर्गत ६ सय ७० किमि खन्नुपर्नेमा सोमबारसम्म ५ सय ५० किमि पाइप लाइन सडक भत्काउँदै बिछइइएको आयोजनाले जनाएको छ।

उपआयोजना–२ का प्रवक्ता लीला ढकालले दिनुभएको जानकारीअनुसार मुख्य लाइनअन्तर्गत ६० किमिमध्ये ४१ किमि पाइप लाइन बिछइइसकेको छ। सडक भत्काउँदै पाइप बिछइउने कामको जिम्मा हन्जाओ–कालिका, हन्जाओ–शर्मा र सुमेक–लामाले पाएको छ।

खानेपानीको पाइप बिछइउन शहरको भित्री बाटो, गल्ली, सडक र फुटपाथलगायत सडक पेटीहरूसमेत भत्काइएको छ। पाइप लाइन बिछइइसकेपछि त्यस क्षेत्रमा सडकलाई जस्ताको त्यस्तै पुनस्र्थापना गर्ने कार्यमा भने सुस्त देखिएको छ।

सडकलाई पहिलाको जस्तै बनाउने कार्यमा सुस्त देखिँदा गएको ५ महिनादेखि काठमाडौंबासीले धूलोको हैरानी खेपीरहेका छन्। यस कामले शहरभित्र वातावरण प्रदूषण भएपछि व्यवस्थापिका संसद्अन्तर्गतको वातावरण संरक्षण समितिको गत साता भएको बैठकले निर्माण पक्षको चरम लापारबाही र नियामक निकायको प्रभावकारी अनुगमन नहुँदा शहरभित्र प्रदूषणको प्रकोप बढेको निष्कर्षसमेत निकाल्यो।

उक्त बैठकमा नियामक निकाय जनसंख्या तथा वातावरण मन्त्रालयले प्रदूषण नियन्त्रणका लागि सबै संयन्त्र परिचालन गरी काम भइरहेको जनायो। शहरमा प्रदूषणका प्रमुख कारणहरूमा भूकम्पपछिको पुनर्निर्माण, मेलम्चीको पाइप बिछइउने कार्य, निर्माण सामग्रीको लापरबाहीपूर्ण प्रयोग र पुराना सवारीसाधनको धुवाँ धूलो हुन्।

मन्त्रालयले तीव्ररूपमा बढेको प्रदूषणलाई रोक्न सरोकार भएका निकायसँग पनि बारम्बार ताकेता भइरहेको जनायो। निर्माण पक्षले यो समस्याको समाधानतिर ध्यान दिन नसक्दा शहरमा यस्तो अवस्था सिर्जना भएको हो। संसदीय समिति, मन्त्री, उपआयोजना–२ लगायतबाट पनि निरन्तर अनुगमन भइरहेको छ। तर, समस्या ज्यूँका त्यूँ छ।

निर्माणपक्षले सडकमा धूलो कम गर्न पानी त छर्केको छ तर त्यतिले धूलो नियन्त्रण गर्न सकेको छैन। केही दिनअघि प्रधानमन्त्री पुष्पकमल दाहालले शहरमा धूलो कम गर्न हरसम्भव संयन्त्र अपनाउन निर्देशन दिनुभएको थियो।

लगत्तै निर्माण पक्षले भत्काइसकेको सडकमा अल्कत्रा छर्कने काम गरेको छ। यसले सडकबाट धूलोको समस्या कम भए पनि फेरि उप्काउनुपर्ने भएकाले समय र खर्च मात्रै हुन आउने जानकारहरूले बताए। निर्माण पक्षले मीनभवन–बबरमहल, पुरानो बानेश्वर–गौशाला सडकखण्ड, जमल–कान्तिपथ–लाजिम्पाट, चुच्चेपाटी–चाबहिल–धोबीखोला गरी ५ किमि भत्काइएको मुख्यसडक खण्डमा कालोपत्रे गरिसकेको छ।

उपआयोजना–२ का प्रवक्ता ढकालले मुख्यसडक खण्डअन्तर्गतको ४१ किमि सडक खण्ड यही महिनाभित्र र वितरण लाइनको ५ सय ५० किमिमध्येको भत्काइएको सडक असारभित्र कालोपत्रे हुने बताउनुभयो। गत डिसेम्बरसम्म १ सय १० मिलियन खर्च गरिसकेको यो उपआयोजनाले ३ सय मिलियन अमेरिकी डलर खर्च गर्नेछ। उपआयोजना–२ ले ८२ प्रतिशत पाइपलाइनको काम सम्पन्न भइसकेको छ भने उपआयोजनाले समग्रमा ७७ प्रतिशत काम सकेको बताइन्छ।

पानीट्यांकी निर्माण, पाइप बिछ्याउने र घर–घरमा धारा जडान गर्ने काम भने उपआयोजना–२ ले गरिरहेको छ। शहरमा पानी खुवाउन मेलम्चीबाट प्राप्त हुने पानी जम्मा गर्न उपत्यकाको ९ ठाउँमा पानीट्यांकी बनाइरहेको र ५ वटा बनिसकेको जनाएको छ। आउने दशैंमा मेलम्चीको पानी काठमाडौंबासीलाई खुवाउने लक्ष्यका साथ काम भइरहेको छ। उपआयोजना–१ ले पनि सुरुङ निर्माण र सुन्दरीजलमा पानी प्रशोधन केन्द्रको निर्माण भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्