घुमघाममा प्रधानमन्त्री आज चिनियाँ राष्ट्रपतिसँग भेट्दै



ग्रेट वालमा आइतबार पत्नी सीतासँग प्रधानमन्त्री प्रचण्ड । तस्वीर ः एजेन्सी

नेपाल समाचारपत्र
काठमाडौं
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपालजस्तो भू–परिवेष्ठित मुलुकका लागि सडक, रेल र प्रविधिको कनेक्टिभिटी आवश्यक रहेकोमा जोड दिनुभएको छ। चीनसँगको कनेक्टिभिटी नेपालका लागि महत्त्वपूर्ण हुने उहाँको भनाइ छ।

आइतबार चीनको बेइजिङस्थित बेइजिङ फरेन स्टडिज युनिभर्सिटीले आयोजना गरेको ‘चीन नेपाल सम्बन्ध ः विकास तथा समृद्धिका सम्भावनाहरू’ विषयक छलफल कार्यक्रममा विशेष अतिथिका रूपमा सहभागी हुनुभएका प्रधानमन्त्री दाहालले यस्तो धारणा राख्नुभएको हो। ‘कनेक्टिभिटी हाम्रो मुख्य चासो हो, पूर्वाधारको विकास, बजारको विस्तारजस्ता कुराले हाम्रो समृद्धि हुनेछ’, उहाँले भन्नुभयो– ‘चीनको आर्थिक चमत्कार गरेको छ, नेपालको विकासमा चिनियाँ प्रविधिले ठूलो योगदान पुर्याउन सक्छ।’

नेपालको शहरी क्षेत्रको पूर्वाधारको विकास, अन्तर्देशीय प्रशारण लाइन, सञ्चार, सूचना प्रविधि जस्ता क्षेत्रमा नेपालले चीनसँग सहकार्य गर्न चाहेको प्रधानमन्त्री दाहालको भनाइ थियो। आफ्नो सम्बोधनका क्रममा उहाँले भूकम्पपछि अवरुद्ध रहेको तातोपानी नाका पुनः सुचारु गर्न आफूले चिनियाँ अधिकारीहरूसँग आग्रह गरेको बताउँदै चीन, नेपाल, भारतबीचको त्रिदेशीय सहकार्यलाई जोड दिनुभयो। चीन–नेपालबीच विगतमा भएका सहमति र सम्झौता कार्यान्वयनमा नेपाल प्रतिबद्ध रहेको प्रधानमन्त्रीले बताउनुभयो। नेपालको जलविद्युत्, सौर्य ऊर्जा, पूर्वाधार, पर्यटन जस्ता क्षेत्रमा लगानी गर्न प्रधानमन्त्री दाहालले चिनियाँ लगानीकर्ताको ध्यानाकर्षण गराउनुभएको थियो।

सोही कार्यक्रमलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतले चीनले अघि बढाएको ‘वान बेल्ट वान रोड’ (ओबीओआर) अवधारणाको महत्त्वपूर्ण साझेदार बन्न प्रतिबद्ध रहेको बताउनुभएको छ। नेपालले सो परियोजनाबाट बढीभन्दा बढी लाभ लिन चाहेको बताउँदै उहाँले भन्नुभयो– ‘यो बृहत् आयोजनाले नेपाली उत्पादनलाई एसिया र युरोपेली बजारमा पुर्याउन र हाम्रो देशको बहुआयामिकतालाई विश्वमा परिचित गराउन सफल हुनेछौं।’
आइतबार बिहान प्रधानमन्त्री दाहालसहितको नेपाली टोलीले चीनको ग्रेटवाल अवलोकन गरेको थियो। त्यसै गरी प्रधानमन्त्री दाहाल र परराष्ट्रमन्त्री महतले चिनियाँ अर्का उपप्रधानमन्त्री वाङ याङ र चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका सदस्य सङ ताओसँग छुटाछुट्टै भेटवार्ता गर्नुभएको थियो। प्रधानमन्त्री दाहालले आज सोमबार बिहान चिनियाँ राष्ट्रपति सी जिङ पिङसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्