स्थानीय चुनावमा सम्पूर्ण नेपालीको सहभागिता अत्यावश्यकः मन्त्री थापा



हेटौंडा,(नेस)

राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रीय अध्यक्ष तथा उपप्रधान र स्थानीय विकास मन्त्री कमल थापाले स्थानीय निकाय चुनावमा सहभागी हुन सम्पूर्ण नेपाली एवम् राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।

राप्रपा मकवानपुरले शनिबार गरेको आफ्नो स्वागत तथा सम्मान कार्यक्रममा मन्त्री थापाले करिब २० वर्षपछि हुन लागेको चुनावले स्थानीय सरकारको निर्माण गर्ने भएकाले चुनावमा सम्पूर्ण नेपालीको सहभागिता अत्यावश्यक रहेको बताउनुभयो ।

उहाँले मधेसका समस्या समाधान गर्न अघि बढेको मोर्चालाई समेटेर सबै दल स्थानीय तहको निर्वाचनमा होमिने बताउनुभयो । थापाले राप्रपा सरकारमा प्रवेश गरेपछि मधेसका मुद्दालाई मिलाएर मोर्चालाई पनि सँगै लिएर हिँड्ने रणनीति अवलम्बन गरेको बताउनुभयो ।

‘स्थानीय चुनावमा कुनै दल अलग हुनु हुँदैन,’ मन्त्री थापाले मधेसी दललाई वार्तामा ल्याएर चुनावमा सहभागी गराउन राप्रपाले हरसम्भव प्रयास गरेको बताउनुभयो ।

‘सरकार, मधेसी मोर्चाका माग ससम्मान सम्बोधन गर्दै सहजढंगले चुनाव सफल पार्ने कार्यमा जुटेको छ,’ उपप्रधानमन्त्री थापाले भन्नुभयो– सीमांकन हेरफेरका मागलाई थाँती राखेर मधेसी मोर्चा चुनाव लड्न तयार भइसकेको छ । उहाँले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) चीन भ्रमणबाट फर्किएपछि मधेसी मोर्चास“ग सम्झौता गरेर मधेसमा सहज चुनाव हुने वातावरण बनाइने बताउनुभयो ।

तराई÷मधेसका जनताले पनि चुनाव चाहेको र करिब २ दशकपछि हुन लागेको स्थानीय तह निर्वाचन खल्बलिए मुलुक दुर्दशाको खाडलमा फस्ने उहाँले जिकिर गर्नुभयो । मधेसका केही जिल्लामा चुनाव नहुने आशंका रहेको भन्दै उहाँले मधेसका जनताले मोर्चाका मागलाई केही हदसम्म स्वीकार गरे पनि स्थानीय तह निर्वाचनले विकासको लहर फैलने बुझेका कारण तोकिएकै मितिमा चुनाव हुने विश्वास व्यक्त गर्नुभयो ।

२०७२ मा जारी संविधान कार्यान्वयनका लागि संसदीय, प्रादेशिक र स्थानीय तह निर्वाचन आवश्यक भएको हुँदा एक वर्षभित्र तीन तहका निर्वाचन हुने उपप्रधानमन्त्री थापाले ठोकुवा गर्नुभयो । उहाँले स्थानीय र प्रादेशिक निर्वाचनले मुलुकको मुहार फेर्ने दाबी गर्दै जनताले स्थानीय तहबाट आफ्ना माग पूरा गर्नसक्ने अवस्था हुने बताउनुभयो ।

थापाले राष्ट्रिय प्रजातन्त्र पार्टी मुलुकको प्रमुख राजनीतिक दल बन्ने रणनीतिसाथ अघि बढेको बताउनुभयो । ‘पार्टीको एकमात्र उद्देश्य तीनै तहको निर्वाचनमा देशको पहिलो पार्टी बन्ने हो,’ उहाँले भन्नुभयो– जनमन जित्नसके हाम्रो योजना सफल हुनेछ ।

हेटौंडा–५ स्थित जिल्ला पार्टी कार्यालयमा आयोजित सभामा अध्यक्ष थापाले स्थानीय निर्वाचनमा मकवानपुरका सबै क्षेत्रमा जित हात पार्न सशक्तढंगले अघि बढ्न निर्देशन दिनुभयो । उहाँले जिल्लाका जनताले उपमहानर, नगर, गाउँपालिका र सबै वडामा राप्रपाको नेतृत्व चाहिरहेको अवस्थामा सबैले साथ दिन आवश्यक रहेको औंल्याउनुभयो ।

थापाले राप्रपाजस्तो बलियो शक्तिको केन्द्रीय अध्यक्षमा आफूलाई विजयी गराउन सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद व्यक्त गर्नुभयो । र, आफूले मकवानपुरलाई देशकै नमूना जिल्ला बनाउने सपना बोकेको बताउनुभयो ।

कार्यक्रममा राप्रपा पूर्वकेन्द्रीय सदस्य मधु अधिकारीले मकवानपुरका सबै स्थानीय तहमा राप्रपाको विजय सुनिश्चत रहेको दाबी गर्नुभयो । राप्रपा मकवानपुर अध्यक्ष रामहरी न्यौपानेको सभाध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य दीपक सिंह, सहमहामन्त्री राजाराम बर्तौला र सांसद् गणेश थापालगायतको आतिथ्यता थियो ।

उहाँहरुले हिन्दुराष्ट्र र संवैधानिक राजतन्त्र पार्टीको मुटु भएकाले कोही कसैले यसलाई पार्टीको विधानबाट हटाउन नसक्ने बताउनुभयो । राप्रपाको मुल एजेण्डामाथि निर्वाचन आयोगले हस्तक्षेप गरेर गैरजिम्मेवारपूर्ण कार्य गरेको उहाँहरुको टिप्पणी छ ।

उहाँहरुले यही एजेण्डा बोकेर दुईवटा निर्वाचन सम्पन्न गरिसकेको र २०७० सालको निर्वाचनमा हिन्दुराष्ट्र बनाउन लोकप्रिय जनमत प्राप्त गरेको उल्लेख गर्नुभयो । पार्टीको यही दुईवटा विचार र सिद्धान्तका आधारमा स्थानीय तह निर्वाचनमा सहभागी हुने र देशभर जित हासिल गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्