बिराटनगरमा भोलि क्षेत्रीय सुरक्षा गोष्ठी



काठमाडौं, (नेस) ।

आगामी स्थानीय निकायको निर्बाचन सुरक्षा योजना र त्यसको कायान्वय सम्बन्धमा भोलि बिराटनगरमा पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठक बस्ने भएको छ ।

उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले क्षेत्रीय सुरक्षा नियकाका प्रमुखहरुलाई निर्बाचन सुरक्षाका सम्बन्धमा निर्देशन दिनु हुने कार्यक्रम रहेको छ । बैठकमा पूर्बाञ्चल क्षेत्रको सुरक्षा अबस्थाका बारेमा छलफल हुनेछ ।

यसैबीच, गृहमन्त्री निधिले सप्तरी घटनाको स्थलगत निरीक्षणका लागि त्यसतर्फ जाने तयारी मिलाउन गृहसचिब लोकदर्शन रेग्मीलाई निर्देशन दिनु भएको छ । तयारी पूरा भएपछि केही दिनभित्रै घटनास्थल पुगेर गृहमन्त्री निधिले सप्तरी घटनामा मारिएका पाँच जनाका परिबारलाई रु. १० लाखका दरले राहत बितरण गर्नुहुने कार्यक्रम छ ।

यसैबीच, ६ बर्षअघि भारतीय सीमा सुरक्षा बल एसएसबीको गोली लागेर मारिएका मोरङ जिल्लाको अमाही बरियातीका वासुदेब शाहको परिवारलाई सरकारका तर्फबाट रु. १० लाख क्षतिपूर्ति दिइने भएको छ ।

भोलि हुने पूर्बाञ्चल क्षेत्रीय सुरक्षा बैठकपछि गृहमन्त्री निधिले शाहका परिवारलाई भोलि बिराटनगरमा क्षतिपूर्ति बापतको चेक हस्तान्तरण गर्नुहुने कार्यक्रम रहेको छ । २०६७ जेठ ११ गते एसएसबीको गोली प्रहारबाट शाहको हत्या भएपछि जिल्ला सुरक्षा समितिको २०६७ जेठ १३ गते बसेको बैठकले क्षतिपूर्तिका लागि गृहमन्त्रालयमा सिफारिस गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्