लोकप्रिय हुँदै अस्ट्रिचको मासु



प्रशान्त वली, दाङ
विश्वकै सबैभन्दा अग्लो चराका रूपमा लिइने अस्ट्रिच दाङमा व्यावसायिक रूपमै पाल्न शुरू गरिएको छ। दाङको तुलसीपुर उपमहानगरपालिका बर्लेनीमा रहेको नेपाल संस्कृत विश्वविद्यालयको ८० बिगाहा जग्गा भाडामा लिएर अस्ट्रिच नेपाल प्रालिले व्यावसायिक रूपमा अस्ट्रिच पालन शुरू गरेको हो।

अस्ट्रिच नेपाल प्रालिका व्यवस्थापक वसन्त वलीले १ सय ७१ वटा अस्ट्रिचबाट शुरू गरिएको फार्ममा अहिले ६ सय ४० वटा अस्ट्रिच रहेको जानकारी दिनुभयो। जसमध्ये ३ सय २० भाले र सोही संख्यामा पोथी अस्ट्रिच छन्। अस्ट्रिचको लागत मूल्य ६० हजारदेखि १० लाख रुपियाँसम्म पर्ने गर्दछ। जसमध्ये ३ महिनासम्मका अस्ट्रिचलाई ६० हजार, ९ देखि १८ महिनासम्मलाई ४ लाख ५० हजार, ३ वर्ष माथिलाई १० लाख रुपियाँसम्म पर्ने व्यवस्थापक वलीले बताउनुभयो। प्रत्येक अस्ट्रिचको ४ लाख ५२ हजार रुपियाँका दरले बीमा गरिएको छ। १ अर्ब रुपियाँ लगानीमा अस्ट्रिच पालन शुरू गरिएको प्रालीले बताएको छ।

विशेषतः ९ देखि १८ महिना उमेर समूहका अस्ट्रिचहरू खान योग्य हुने बताइएको छ। अहिले अस्ट्रिचको बजार मूल्य हड्डीसहित १ हजार ४ सय र हड्डीबाहेक २ हजार १ सय रुपियाँ पर्ने बताइएको छ। पछिल्लो समय अस्ट्रिचको मासुको माग बढ्दै गएको छ। जनचेतना र प्रचार बढ्दै गएपछि यसको माग बढेको बताइएको छ। बोसो नहुने भएकाले यौनबद्र्धक खाद्यान्नको रूपमा समेत अस्ट्रिचको मासु निकै लाभदायी हुने व्यवस्थापक वलीले जानकारी दिनुभयो।

मासु कोलेस्टेरोल मुक्त हुने भएकाले सुत्केरी, मुटु तथा दम रोगीहरूका लागि निकै उपयोगी हुने अस्ट्रिच नेपाल प्रालिले बताएको छ। चिकित्सकका अनुसार अस्ट्रिचको मासु पूर्णरूपमा कोलस्टेरोल फ्रि हुनेहुँदा मानव शरीरका लागि निकै स्वस्थकर मानिएको छ। रेड मिटका रूपमा रहे पनि यो मासु सेबनले शरीरलाई कुनै नराम्रो नगर्ने चिकित्सकको भनाइ छ। विशेषतः काठमाडौंका चारतारे होटेलहरूमा यसको माग बढ्दै गएको छ।

बेलझुण्डीमा रहेको जग्गामा अस्ट्रिच पालन गरिएको र भैरहवाबाट मासु विक्री वितरणको व्यवस्था मिलाइएको छ। अस्ट्रिचको मासु भैरहवा, काठमाडौं, पोखरा, नारायणगढ, बुटवल, विराटनगर, इटहरी, झापा, धरान, म्याग्दी, दमौली, बागलुङ, नेपालगन्ज, धनगढी, धनगढीलगायतका स्थानमा विक्रीवितरण भइरहेको र सन् २०२० पछि नेपालबाहिर समेत विक्रीवितरण गर्ने तयारी थालिएको छ।

एउटा अस्ट्रिचको तौल २ सय ५० किलोसम्म हुने बताइएको छ। अस्ट्रिच हेर्न आउनेका लागि प्रालिले सर्वसाधारणका लागि १ सय रुपियाँ र विद्यार्थीका लागि ५० रुपियाँ शुल्क निर्धारण गरेको छ। अस्ट्रिचको बजार माग कस्तो छ? भन्ने जिज्ञाशामा प्रालीका व्यवस्थापक वली भन्नुहुन्छ– ‘विगतमा मासु बिक्न निकै गाह्रो हुन्थ्यो। अहिले विस्तारै यसको महत्त्व नागरिकले बुझ्दै गएपछि मासिक ५० किलोसम्म विक्री भइरहेको छ। यसको मासु अली ठूलो स्तर भएका र उच्च घराना भएकाहरूले उपयोग गर्दछन्।’

प्रतिक्रिया दिनुहोस्