आयोगले थाल्यो मतदाता शिक्षा अभियान



सुनिल महर्जन, काठमाडौं
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७४ अन्तर्गत शनिबारदेखि मतदाता शिक्षा कार्यक्रम शुरू गरेको छ। स्थानीय निर्वाचनको तिथि छोटिँदै गइरहेका बेलामा आयोगले यो अभियान थालेको हो। अभियान देशैभरि यही चैता मसान्तसम्म जारी रहनेछ। शनिबार देशका विभिन्न आठ स्थानमा मतदाता शिक्षा कार्यक्रमअन्तर्गत ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रम शुरू गरियो।

शनिबार दुई दिने प्रशिक्षण कार्यक्रम विराटनगर, सिन्धुली, हेटौंडा, ललितपुर, पोखरा, बुटवल, नेपालगन्ज र धनगढी गरी आठ स्थानमा सञ्चालन गरिएको थियो।

प्रशिक्षण कार्यक्रममा जिल्ला निर्वाचन अधिकारीहरू, सामुदायिक विद्यालयका सामाजिक शिक्षा अध्यापन गराउने माध्यमिक शिक्षक (महिला), जिल्ला शिक्षा कार्यालयका स्रोत व्यक्ति तथा जिल्ला समन्वय समितिका सामाजिक परिचालक गरी देशभरिका ३ सय ५४ जनालाई क्षेत्रीय प्रशिक्षक प्रशिक्षण दिने कार्यक्रम रहेको छ।

क्षेत्रीयस्तरमा प्रशिक्षित भएका ती प्रशिक्षकहरूले ७ सय ४४ स्थानीय तहमा रहने अनुमानित २१ हजार मतदान केन्द्रमा खटिने मतदाता शिक्षा कार्यकर्तालाई जिल्लास्तरमा प्रशिक्षण दिनेछन्। जिल्लास्तरमा प्रशिक्षित मतदाता शिक्षा कार्यकर्ताले एक महिनासम्म मतदाताको घर घरमा गएर मतदाता शिक्षा प्रदान गर्नेछन्।

ललितपुरको गोदावरीमा आयोजित उक्त ‘क्षेत्रीय प्रशिक्षक प्रशिक्षण’ कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै निर्वाचन आयुक्त नरेन्द्र दाहालले संविधान जारी भएपछि नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनमा २१ हजार मतदान केन्द्रमा मतदान गर्न आउने मतदाताका घरघरमा मतदाता शिक्षा कार्यकर्ता पुग्ने बताउनुभयो। ‘मतदाता शिक्षा प्रदान गर्दा महिला, दलित र सीमान्तकृत समूहबाट हुने उम्मेदवारी छनोट, उम्मेदवारी दर्तादेखि मतदानसम्मका कार्यमा राम्ररी मतदाता शिक्षा दिन सक्नुपर्छ।’ –उहाँले भन्नुभयो।

सो अवसरमा निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौड्यालले नयाँ संरचनामा हुन लागेको स्थानीय तह निर्वाचनको मतदाता शिक्षा चुनौतीपूर्ण छ भन्दै कस्तो उम्मेदवार छनोट गर्ने, बदर मत कसरी घटाउने र महिला मतदाताहरूलाई उम्मेदवारी दर्तादेखि मतदान कार्यमा सहभागी हुन कसरी उत्प्रेरित गर्ने भन्ने बारेमा मतदाता शिक्षा कार्यकर्ताले राम्रोसँग सिकाउन सक्नुपर्ने बताउनुभयो।
आयोगका सचिव गोपीनाथ मैनालीले मतदाता शिक्षालाई सबै नेपालीको घरआँगनमा पुर्याउनु जरुरी रहेकाले प्रशिक्षकको भूमिका महत्त्वपूर्ण हुन्छ भन्दै विकासप्रेमी नेतृत्वलाई प्राथमिकतामा राखी स्थानीय सरकारमा प्रतिनिधित्व गराउन मतदाता शिक्षा कार्यक्रम सफल हुनुपर्ने बताउनुभयो।

आयोगका सहसचिव नवराज ढकालले हरेक मतदान केन्द्रमा २१ हजार मतदाता शिक्षा कार्यकर्ताले ७ सय ४४ स्थानीय तहको ६ हजार ६ सय ८० वडाका प्रत्येक घरघरमा पुगेर मतदाता शिक्षा दिने लक्ष्य रहेको बताउनुभयो। कार्यक्रममा ललितपुरका प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले प्रशिक्षण कार्यक्रमको सफलताको शुभकामना दिनुभयो। ललितपुरमा सञ्चालित प्रशिक्षणमा १२ जिल्लाका ६१ जना सहभागी छन्। अन्य स्थानमा पनि क्रमशः यस खालको शिक्षा दिइने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्