साना दलमा ‘थ्रेसहोल्ड’को बाछिटा



कोही गनगन गर्दै, कोही चुप लाग्दै

मधुसूदन रायमाझी, काठमाडौं

राष्ट्रिय पार्टी हुनका लागि समानुपातिकमा ३ प्रतिशत र प्रत्यक्षमा १ सिट जित्नुपर्ने व्यवस्था भएपछि साना दल आक्रोशित भएका छन्।

व्यवस्थापिका संसद्ले राजनीतिक दलसम्बन्धी विधेयक २०७३ पारित भएपछि साना दल आक्रोशित भएका हुन्।

मधेसी मोर्चामा आबद्ध भएका सद्भावना पार्टी, तराई मधेस सद्भावना पार्टी, राष्ट्रिय मधेस समाजवादी पार्टी, नेपाल सद्भावना पार्टीसमेतका १९ दल थ्रेसहोल्डको विरुद्धमा उभिएका छन्। विगतमा विचारको हिसाबले आकाश जमिनको फरक रहेका यी दलहरूले औपचारिकरुपमा गठबन्धनको घोषणा नगरे पनि तीन ठूला दलहकोे विरुद्ध कसरी जाने भन्ने विषयमा छलफल शुरू भएको छ।

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले ३ प्रतिशत थ्रेसहोल्ड दुई दलीय तानाशाहीतन्त्र भएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘पश्चिमाको निर्देशनमा तीन दलले तीन प्रतिशत थ्रेसहोल्ड राख्ने निर्णय गर्नु देश र जनताको विरुद्धमा छ।’

ठूला दलले गरेका गल्ती ढाकछोप गर्नका लागि साना दललाई दोष दिने गरेको भन्दै साना दलले असन्तुष्टि जनाएका छन्। प्रमुख तीन दलको कारण नै विकृति र विसंगति भित्रिएको साना दलले आरोप लगाएका छन्।

केसीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘पश्चिमाहरू धेरै दलसँग डिल गर्नुभन्दा थोरै दलसँग डिल गरेर नेपालको प्राकृतिक स्रोत र साधनमाथि कब्जा जमाउन चाहन्छन्, तीन दल विदेशीले जे निर्देशन दिन्छन् त्यही गर्छन्।’ उहाँले साना दलबाट पनि प्रलोभनमा परेर कमीकमजोरी भएको स्वीकार गर्दै राजनीतिक दललाई बदनाम बनाउने काम कांग्रेस, एमाले र माओवादीले नै गरेको आरोप लगाउनुभयो।

‘साना पार्टीको स्वार्थले भन्दा पनि ठूला पार्टीको स्वार्थले मन्त्री बनाउने गरेका हुन्’, उहाँले भन्नुभयो– ‘स्वार्थ ठूला दलले पूरा गर्ने दोष जति साना दललाई दिन मिल्छ?’

तर अखण्ड पार्टीका सांसद कुमार खडकाले राष्ट्रिय पार्टी गठनका लागि थ्रेसहोल्ड आवश्यक भएको बताउनुभयो। तर उहाँले समानुपातिक र समावेशीतालाई संविधानले स्वीकार गरेको अवस्थामा अहिले आएर ३ प्रतिशत थ्रेसहोल्डको व्यवस्था गर्ने काम कानुन विपरीत भएको बताउनुभयो। ’ठूला दलले गर्दै आएको विकृति र विसगंतिलाई निरन्तरता दिने ३ प्रतिशत थ्रेसहोल्डमार्फत बिरुवा नै उम्रिन नदिने रणनीतिमा तीन दल लागेका छन्’, उहाँले भन्नुभयो– ‘ठूला दलको विरुद्धमा संसद्मा आवाज उठाउने साना दललाई अब ढोका बन्द गरिएको छ।’

३ प्रतिशत थ्रेसहोल्डको पक्षमा कडारूपमा एमाले प्रस्तुत भएको भन्दै विपक्षी गठबन्धनमा रहेका साना दलले गठबन्धनसमेत छोड्ने चेतावनी दिएका छन्।

समाजवादी जनता पार्टीका अध्यक्ष प्रेमबहादुर सिंहले ३ प्रतिशत थ्रेसहोल्ड नभई राष्ट्रिय दलको मान्यता प्राप्त गर्न राखिएको व्यवस्था भएको बताउनुभयो। राष्ट्रिय दलको मान्यता प्राप्त गर्नका लागि राखिएको ३ प्रतिशत थ्रेसहोल्डलाई अन्यथा लिन नहुने बताउँदै स्थानीय तह र प्रदेशमा नभई प्रतिनिधिसभाको निर्वाचनमा मात्र लागू हुने उहाँले बताउनुभयो। सिंहले भन्नुभयो– ‘२०४८ सालको चुनावमा पनि तीन प्रतिशत मत ल्याउनुपर्ने मापदण्ड राखिएको थियो, अहिले पनि सोही व्यवस्था गरिएको मात्र हो।’
थ्रेसहोल्डमार्फत ‘मुसा प्रवृत्ति’ हट्ने विश्वास तीन दलले लिएका छन्। कांग्रेस र नेकपा माओवादी केन्द्र सानालाई फाइदा हुने गरी डेढ प्रतिशत मात्र थ्रेसहोल्ड राख्न तयार भए पनि एमालेले ३ प्रतिशत नै राख्न दबाब दिएको थियो। थ्रेसहोल्डको कारण विपक्षी नौ दलीय गठबन्धनसमेत धरापमा पर्न सक्ने चेतावनी गठबन्धनमा आबद्ध साना दलले दिएका छन्।

नेकपा मालेका महासचिव सीपी मैनालीले ३ प्रतिशत थ्रेसहोल्ड राख्न बाध्य बनाउने एमाले खलनायक भएको बताउनुभयो। ‘३ प्रतिशत थ्रेसहोल्ड चर्को भयो, डेढ प्रतिशतसम्म राखेको भए हुन्थ्यो’, मैनालीले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘थ्रेसहोल्ड ३ प्रतिशत राखेपछि उनीहरूसँग पार्टी एकता गर्दैनौं।’

कानुन बनिसकेको अवस्थामा साना दलहरूबीच कसरी अगाडि बढ्ने भन्नेबारेमा गृहकार्य भइरहेको बताउँदै उहाँले साना दलको विचार असफल बनाउने कानुन आएपछि नयाँ उपायको खोजीमा रहेको बताउनुभयो।

‘स्थानीय र प्रदेशसभामा भन्दा पनि प्रतिनिधिसभाको निर्वाचनमा साना दलहरूबीच सहमति र सहकार्य गरेर अगाडि जान सकिन्छ, साना दलहरूबीच पार्टी एकता गर्ने सम्भावना छैन।’ –उहाँले भन्नुभयो।

एमालेको नेतृत्वमा रहेको ९ दलीय गठबन्धनमा ३ प्रतिशत थ्रेसहोल्डको बारेमा कुरा उठाउने बताउँदै महासचिव मैनालीले एमाले स्वार्थी र अहंकारी भएको र गठबन्धनमा मतभेद शुरू भएको बताउनुभयो। ‘एमालेको नीतिले गठबन्धनलाई झड्का दिएको छ, कांग्रेस र माओवादीले घटाएर राखौं भन्दा पनि एमालेले नै मानेन’, उहाँले भन्नुभयो– ‘कांग्रेस र माओवादी पानी मरुवा भए। एमाले पेलेर अगाडि बढ्यो।’

प्रतिक्रिया दिनुहोस्