टाउको नभएको अनौठो बच्चा जन्मियो



बैतडी, (नेस)
बैतडीको दुर्गम तल्लोस्वराडकी एक महिलाले टाउको नभएको अनौठो बच्चा जन्माएकी छन्। मेलौली–६ महारुद्र की २८ वर्षीया सुनिता पोखरेलले केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा बच्चा जन्मिएको नर्स जानकी महतोले जानकारी दिनुभयो।

उनले जन्माएको बच्चा छोरी रहेको छ। नर्स महताको अनुसार आठ महिनामै सुनिताले जन्माएको बच्चाको टाउको नभएको र जन्मिनेबितिकै बच्चाको मृत्यु भएको हो।

सुनिताले बच्चाको जन्म भने नर्मल डेलिभरीबाट भएको र बच्चाको जन्म भइसकेपछि अत्यधिक उक्तश्राव भएको अस्पताल स्रोतले बताएको छ।

बच्चा जन्माउन स्वास्थ्य संस्थामा आएको भए पनि सुनिताका कोही आफन्त नआएको नर्स महतोले बताउनुभयो। सुनिताको अत्यधिक रक्तश्राव भएकाले बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेलधुरा रिफर गरिएको छ।

पोखरेलको चार महिना हुँदा गर्भ जाँच गराउँदा नै बच्चाको टाउको नभएको भनेर भनिए पनि आर्थिक अवस्था कमजोर हँुदा बाहिर जान नसकेको बताइएको छ।
आर्थिक अवस्था कमजोर तथा अन्धविश्वासका कारण समयमै अस्पताल नजाँदा यस्तो अवस्था आएको स्थानीय अर्जुन कुँवरले बताउनुभयो।

सुनिताका श्रीमान् करन पोखरेल रोजगारीको सिलसिलामा भारतमा छन्।
जिल्ला स्वास्थ्य कार्यालय बैतडीका प्रमुख डा. गुणराज अवस्थीले चार महिनाअगाडि भिडियो एक्सरे गर्दा नै टाउको नभएको भन्ने थाहा भएको र उपचार गर्न स्वास्थ्य संस्था नआएको बताउनुभयो। ‘गर्भ रहेको चार महिनाभित्र गर्भवती महिलाले कुनै पनि किसिमको औषधी सेवन गर्नुहुँदैन’, उहाँले भन्नुभयो– ‘केही औषधी सेवन गरेको हुनसक्छ।’

औषधी सेवन गरेर बच्चाको शरीरको मात्रै विकास भएको र टाउको विकास नभएको हुनसक्ने भए पनि यो अहिलेसम्म पुष्टि नभएको बताउनुभयो।

बैतडीमा उपचार हुन नसक्दा सुदूरपश्चिम उपक्षेत्रीय अस्पताल डडेलधुरा रिफर गरिएकी सुनिताको डडेलधुरामा पनि रगत नपाउँदा उपचारमा समस्या भएको डा. नवराज जोशीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्