अभिलेख भेटियो

0
Shares

काठमाडौं, (नेस)
पुरातत्त्व विभागले लिच्छविकालीन अभिलेख फेला पारेको छ। काभ्रेको नमोबुद्ध नगरपालिका–७ स्थित भकुण्डेबेंसीमा सो अभिलेख फेला पारेको हो।

विभागका अनुसन्धान अधिकृत मोहनसिंह लामाले उत्खननका क्रममा सो अभिलेख फेला पारेको जानकारी दिनुभयो। भकुण्डेबेंसीको मूल बजारको बसपार्क चोकबाट दक्षिणपश्चिमतर्फ नेपाली सेनाको ब्यारेक जाने स्थाननजिकै सो अभिलेख फेला पारिएको उहाँले बताउनुभयो।

प्राचीनकालमा पुरातात्त्विक, ऐतिहासिक एवं धार्मिक महत्त्वको मन्दिर भएकामा उचित संरक्षणको अभावमा भग्नावशेषमा परिणत भई खुला चौरमा सिउँडी काँढाको घारीभित्र रहेको भग्नावशेषलाई केही वर्षअगाडि बस्ती विस्तारसँगै स्थानीय समुदायको पहलमा आधुनिक निर्माण सामग्रीको प्रयोग गरी मन्दिर बनाएर हाल संरक्षण गरिरहेको उहाँको भनाइ थियो।

ती थानहरूमध्ये महादेव थानको प्रस्तरको नयाँ चतुर्मुखी शिवलिङ्गसहित दुई तहको ढुङ्गाको जलहरीको पूर्वदक्षिणतर्फको पीठमा हालसम्म प्रकाशनमा नआएको लिच्छविकालीन अभिलेख केही अगाडि फेला परेको जानकारी गराउँदै त्यसलाई विभागले थप संरक्षण गर्ने योजना बनाएको लामाको भनाइ थियो। लिच्छविकालका शिवदेव द्वितीयको पालामा लगभग विसं ७५० तिर नै सो क्षेत्रमा मन्दिर स्थापना भएको हुन सक्ने अनुमान गरिएको छ। हाल नेपालमा करिब १ सय ९० वटा लिच्छविकालीन सम्पदा रहेको विभागको भनाइ छ।

Skip This