एमाले–मोर्चा नजिकिए प्रमको चीन भ्रमणपछि संशोधन टुंगिने



नेपाल समाचारपत्र
काठमाडौं
प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संविधान संशोधनका विषयमा छलफलका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासँग समय माग गरेको छ। थप समयमा पार्टीभित्र छलफल गरेर संविधान संशोधनको विषयलाई टुंगो लगाउने आश्वासन एमालेले दिएको छ।

चीन प्रस्थान गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको छलफलमा एमालेले मोर्चासँग समय माग गरेको हो। एक अर्काप्रति आक्रमक हुँदै आएका एमाले र मोर्चा बिहीबारको बैठकमा सकारात्मक देखिएका थिए। बैठकमा दुई पक्षले समझदारीका साथ अगाडि बढ्ने वातावरण बनाउन सहमत भएका छन्।

उक्त बैठकमा मोर्चाको माग सम्बोधनका विषयमा प्रधानमन्त्रीले सरकारी पक्ष र मोर्चाबीच थप छलफल हुनु आवश्यक रहेको बताउनुभएको थियो। बैठकमा प्रधानमन्त्रीले मोर्चाका नेताहरूलाई भन्नुभयो– ‘संविधान संशोधनलाई अन्तिम टुंगो लगाउने अवस्था आइसकेको छ। एमाले पनि लचिलो भएको छ। थप समयको र छलफलको आवश्यकता छ।’

बैठकमा सत्तारूढ दलका नेताहरूले मधेसी मोर्चालाई सम्झौता गरेर अगाडि बढ्न आग्रह गरेको थियो। तर मधेसी मोर्चाका नेताहरूले अब कुनै सम्झौता नहुने बताउँदै सरकारको गतिविधिले आगामी दिशानिर्देश गर्ने बताउनुभयो।

बैठकमा सहभागी सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘बैठकमा औपचारिक कुनै कुरा भएन तर प्रमुख प्रतिपक्षी एमालेले मोर्चासँग थप समयको माग गरेको छ। पार्टीभित्र छलफल गरे संविधान संशोधनमा सहयोग गर्ने आश्वासन एमालेले दिएको छ।’

बैठकमा प्रधानमन्त्री प्रचण्डसहित कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले नेता वामदेव गौतम, सुभाषचन्द्र नेम्वाड, राप्रपा अध्यक्ष कमल थापासहित मोर्चाका नेताहरूको सहभागिता रहेको थियो।

बैठकको अन्तिममा मोर्चाका नेताहरूले प्रधानमन्त्रीलाई चीन भ्रमणको शुभकामनासमेत दिएको तमसपाका अध्यक्ष महेन्द्र यादवले बताउनुभयो।

प्रधानमन्त्री चीन प्रस्थान
काठमाडौं, (नेस)
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ १५ सदस्यीय टोलीसहित बिहीबार राति चीन प्रस्थान गर्नुभएको छ। एयर चाइनाको उडानबाट त्यसतर्फ प्रस्थान गर्नुभएका प्रधानमन्त्री दाहालसँगै परराष्ट्रमन्त्री, परराष्ट्र सचिवलगायतको नेपाली प्रतिनिधि मण्डल रहेका छन्। भ्रमण दलमा श्रीमती सीता दाहाल र छोरा प्रकाश दाहालसमेत सहभागी हुनुहुन्छ।

चीनको हुनान प्रान्तमा आजबाट शुरू हुने बोआओ सम्मेलनमा सहभागी हुन उहाँ त्यसतर्पm प्रस्थान गर्नुभएको हो।

प्रधानमन्त्री दाहालले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग द्विपक्षीय कुराकानी गर्नुहुनेछ। उहाँले भ्रमणका क्रममा कुनै पनि सम्झौता भने गर्नुहुनेछैन।

प्रतिक्रिया दिनुहोस्