खाडीमा शोषणको हद—पाहुनाको स्वागत गर्न नेपाली चेली



कुमार श्रेष्ठ
बाँके । २७ वर्षकी यमुना (नाम परिवर्तन) बैधानिक बाटोबाट खाडीमुलुक पुग्नुभयो । कम्पनीमा काम गर्ने भनेर गएकी यमुना त्यहाँ पुगेपछि घरेलु काममा पर्नुभयो ।

दुई वर्ष घरेलु कामदार बनेकी यमुनालाई दिनुसम्मको कष्ट दिइयो । कामका साथै निरन्तर शारिरीक शोषण भयो । घरमालिकले बलात्कार गरिरह्यो । बाबुसँगै छोराहरूले बलात्कार गरे । कतिसम्म भने त्यो घरमा आउने पाहुनाको स्वागतसमेतमा यमुनाले शरीर सुम्पिनुप¥यो । शारीरिक शोषणको विरोध गर्दा उनलाई कुटपिट गरिन्थ्यो । बरण्डामा सुताइन्थ्यो ।

घरमालिक, छोराहरू र त्यो घरमा आएका पाहुनाको निरन्तर यौन शोषणमा परेकी यमुना दुई वर्षपछि नेपाल फर्किन सफल हुनुभएको छ । दुई वर्षसम्म काम गर्दा उहाँले पैसा पाउनुभएन । घरमालिकले आउन दिएको थिएन । यमुनाका अनुसार, कुरान छोएर फेरि फर्किने बाचा गरेर नेपाल आएको हुँ । मोबाइल बेचेर भाडा बनाएँ ।’

एजेन्ट, म्यानपावरलाई कारबाहीका लागि यमुनाले जिल्ला प्रहरी कार्यालय, बाँकेमा उजुरी दिनुभएको छ । बाँके प्रहरीले एजेन्टको खोजी भइरहेको जनाएको छ । जिप्रकाका मुद्दाफाँट इन्चार्ज बीरबहादुर थापाले यमुनाको उजुरीकाबारेमा अनुसन्धान भइरहेको बताउनुभयो । ‘विदेश पठाउनेको खोजी गरिरहेका छौं, थापाले भन्नुभयो ।

श्रीमानले छोडेपछि दुई÷चार पैसा कमाउनका लागि खाडी गएकी यमुनाले पाउनसम्म दुःख कष्ट पाउनुभयो । उहाँको शरीरका विभिन्न भागमा अहिले पनि कुटाइ डामहरू छन् । आफूलाई नर्कमा पु¥याउनेलाई कारबाही गराउनका लागि यतिबेला यमुना प्रहरी कार्यालयमा धाइरहनुभएको छ ।

बैधानिक बाटोबाट जाँदा पनि यमुना जोखिमपूर्ण काममा पर्नुभयो । जबकी नेपालगञ्ज नाका हुँदै भारत भएर अवैध बाटोबाट वर्षेनी खाडीमुलुक जाने चेलीको संख्या कमी छैन ।

नेपालगञ्ज नाका भएर खाडी मुलुक जान भारत हिडेका ५ हजार हाराहारी चेलीलाई नाकाबाट फर्काउने गरिन्छ । वर्षेनी ५ सय बढी चेलीको त घरपरिवारले लामो समयदेखि सम्पर्क नभएको भन्दै खोजतलासका लागि निवेदन दिने गर्दछन् ।
लामो समयदेखि घरपरिवारको सम्पर्कमा आएकाहरू प्रायः जोखिमपूर्ण काममा पर्ने बेचबिखनविरुद्ध काम गर्ने संघ संस्थाको दावी छ । माइती नेपाल, नेपालगञ्जका प्रमुख केशव कोइरालाका अनुसार, हराएको भनेर खोजतलासका लागि आउनेहरू अधिकांश उच्च जोखिममा परेको हुन सक्छन् ।

मानव बेचबिखनविरुद्ध राज्य र गैरसरकारी निकायले जति नै कडाई गरेपनि एजेन्टले घरघरमा पुगेर नेपाली चेलीलाई खाडीमा पु¥याइरहेका छन् । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन, २०६४ ले कडा सजायको व्यवस्था गरेसँगै प्रहरीले दलालविरुद्ध अप्रेसनहरू चलाएका छन् ।

‘हामीले नाका पार गराउनेलाई मात्रै होइन, पठाउनेलाईसमेत समातेर कारबाही अगाडि बढाएका छौं, बाँके प्रहरी प्रमुख एसपी टेकप्रसाद राईले केही दिनअघिको घटना स्मरण गर्दै भन्नुभयो, सबैको पक्षको समन्वय र साथले मात्रै यस्तो धन्दा रोकिन सक्छ ।’

प्रतिक्रिया दिनुहोस्